बर्दिया,साउन १५ (फरकसमाचार) / भुक्तानी रोकिएको भन्दै बर्दियाका निर्माण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । निर्माण कार्य गरे वापतको भुक्तानी रोकिएको भन्दै निर्माण व्यवसायीहरु आइतबार आन्दोलनमा उत्रिएका हुन् ।
विभिन्न निकायमा काम गरे वापतको तुरुन्त भुक्तानी गर लगायतका १० बुँदे माग राख्दै आइतबार निर्माण व्यवसायी संघ बर्दियाले जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिएको छ । आफुहरुको मागलाई बेवास्ता गरिएको भन्दै निर्माण व्यवसायीहरु प्रशासन अगाडि शान्तिपुर्ण धर्ना दिएका हुन् । यसअघि निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप हुनुपर्नेलगायतको माग राखी अघिल्लो साता निर्माण व्यवसायी संघले प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाईसकेको छ । सरकारले निर्माण व्यवसायीहरुको मागलाई सम्बोधन गर्न बेवास्ता गरिरहेको निर्माण व्यवसायी संघका पदाधिकारीहरुको भनाई छ ।
विभिन्न निकायमा काम गरे वापतको तुरुन्त भुक्तानी गर, सम्पुर्ण ठेक्का एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मुल्य समायोजन गर, अव्यवहारीक माईलस्टोन खारेज गर, विमा निर्देशिका २०७८ खारेज गर, उपभोक्ता समितिबाट निमार्ण कार्य गर्ने नियम खारेज गर, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर र खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागु गर लगायतका माग राखी निर्माण व्यवसायीहरु आन्दोलित भएका छन् ।