बर्दिया, साउन १६ (फरकसमाचार)/ गुलरियामा भव्य रुपमा काँवर यात्रा निकालिएको छ । विश्व हिन्दु परिषद नेपाल नगर कमिटि गुलरियाको आयोजनामा भव्य रुपमा सोमबार काँवर यात्रा निकालिएको हो । साउन महिनाको चौथो सोमबारको अवसरमा विश्व हिन्दु परिषद नेपाल गुलरिया नगर कमिटिले काँवर यात्रा निकालेको छ । काँवर यात्रामा भक्तालुहरुको बाक्लो उपस्थिती रहेको थियो ।
शिव भगवान्को भजन किर्तनसहितको काँवर यात्रा आकर्षण देखिएको थियो । पहेलो वस्त्रमा सजिएका भक्तालुहरुले हातमा कलस र फुलपाती लिएका थिए । साउन महिनाको प्रत्येक सोमबार शिव भगवानलाई गाईको दूध, जल र बेलपत्रलगायत फुलपाती चढाउने गरिन्छ ।
गुलरिया नगरपालिका–७ गुलरिया गाउँ स्थित रहेको शिव मन्दिरबाट काँवर यात्रा सुरु भएको थियो । काँवर यात्रामा सहभागि भक्तालुहरुले बजार परिक्रमा गरि सरयु नदि(भादा)मा जल लिन गएका थिए । सरयु नदिबाट जल ल्याएर भक्तालुहरुले एकैदिन तीन वटा शिव मन्दिरमा चढाएका छन् । गुलरिया नगरपालिका–६ भन्सार रोड स्थित रहेको गौरीशंकर मन्दिर, वडा नंम्बर ७ मा रहेको बगलामुखी मन्दिर र गुलरिया गाउँ स्थित रहेको शिव मन्दिरमा भक्तालुहरुले जल चढाएका छन् ।
गुलरिया गाउँ स्थित रहेको शिव मन्दिरबाट सुरु भएको काँवर यात्रा शिव मन्दिरमा पुगरे अन्त्य भएको विश्व हिन्दु परिषद नेपाल नगर कमिटि गुलरियाका संयोजक अमर यादवले बताए । ‘काँवर यात्रामा सहभागिता जनाएका भक्तालुहरुलाई धन्यवाद छ’ संयोजक यादवले भने,‘भक्तालुहरुको उत्साहजनक सहभागिताले धार्मिक कार्यक्रमको आयोजना गर्न थप उर्जा मिलेको छ ।’