विद्यार्थी आन्दोलित भएपछि पालिकाले गर्यो शिक्षकको काज फिर्ता
बिहिबार, साउन १८, २०८० मा प्रकाशित

राम प्रसाद चौहान/ज्ञानेन्द्र पोखरेल

बर्दिया,साउन १८ / विद्यार्थी आन्दोलित भएपछि मात्र बढैयाताल गाउँपालिकाले शिक्षकको काज फिर्ता गरेको छ । पालिकाले अन्य शिक्षक उपलब्ध नगराएपछि दरबन्दीवाला शिक्षकको काज फिर्ताको माग राख्दै विद्यार्थी आन्दोलित भएका हुन् । पालिकाले दरबन्दीवाला शिक्षकलाई काजमा अन्तै पठाई दरबन्दी रहेको विद्यालयमा अन्य शिक्षक नपाउँदा लामो समय देखि पठनपाठनमा समस्या भएको थियो । अन्य शिक्षक उपलब्ध नगराएको भन्दै दरबन्दीवाला शिक्षकको काज फिर्ताको माग राख्दै विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले बुधबार बढैयाताल गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

विद्यार्थीले शिक्षकको काज फिर्ताको माग राख्दै बढैयाताल गाउँपालिकाको कार्यालय घेरेपछि पालिकाले शिक्षक ढाकाराम लामिछानेको काज फिर्ता गरेको छ ।
शिक्षक ढाकाराम लामिछानेको दरबन्दी बढैयाताल गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयमा हो । तर २०७८ सालमा बढैयाताल गाउँपालिले पालिका स्तरीय निर्णय गरि शिक्षक लामिछानेलाई बढैयाताल गाउँपालिका–७ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा काज पठायो । विगत १८ महिना देखि शिक्षक लामिछाने नेरा माविमा छन् । उता सरस्वती माविमा १८ महिना देखि शिक्षक लामिछानेको ठाउँ खाली रहेको थियो ।

शिक्षक लामिछानेलाई पालिकाले काजमा अन्यत्र पठायो तर शिक्षक लामिछानेको ठाउँमा पालिकाले अन्य शिक्षक उपलब्ध नगराएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले जनाए । लामो समय बितिसक्दा पनि पालिकाले अन्य शिक्षक नपठाउँदा पठनपाठनमा समस्या भयो । विद्यालयमा शिक्षक उपलब्ध गराउन पालिकामा विगत लामो समय देखि धाउँदा पनि पालिकाले वेवास्ता गरेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाई छ ।
शिक्षक लामिछानेको ठाउँमा अन्य शिक्षक उपलब्ध नगराउँदा शिक्षक लामिछानेको काज फिर्ताको माग गर्दै विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिका पदाधिकारी आन्दोलित भएको जनाईएको छ ।

पालिकाको अध्यक्ष स्तरीय निर्णयले शिक्षक लामिछानेलाई काज सरुवा गरेको बढैयाताल गाउँपालिका शिक्षा शाखाका अधिकृत बिष्णु प्रसाद ढकालले बताए । ‘काज फिर्ता गर्न शिक्षा शाखाले तीन पटक टिप्पणी उठायो तर, पछि गर्ने भनेर अध्यक्षले रोक्नु भयो’ अधिकृत ढकालले भने,‘काज फिर्ता गर्न माग राखी बुधबार विद्यार्थी पालिकाको कार्यालयमा आएपछि अध्यक्ष स्तरीय निर्णयले शिक्षक लामिछानेको काज फिर्ता गरिएको छ ।’ बिहीबार देखि शिक्षक लामिछाने सरस्वती माविमा हाजिर हुने गरि काज फिर्ता गरिएको अधिकृत ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय