बर्दिया अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा : सर्वसाधारणलाई सास्ती
आइतबार, साउन २१, २०८० मा प्रकाशित

बर्दिया, साउन २१ (फरकसमाचार) / लामो समयदेखि बर्दिया अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा यहाँका गरिब र विपन्न परिवारका सर्वसाधारणलाई विभिन्न किसिमको सास्ती व्यहोर्नु परेको हो । प्राणघातक रोग बिरुद्धको अस्पतालमा खोप उपलब्ध नहुनु दुखद रहेको सर्वसाधारणको भनाई छ ।

अस्पतालमा निःशुल्क रुपमा पाईने खोप अस्पतालमा उपलब्ध नहुनु र प्राईबेट क्लिनिकमा धमाधम बिक्री हुनु शंकास्पद रहेको सर्वसाधारणको ठम्याई छ । प्राणघातक रोग बिरुद्धको खोप उपलब्ध गराउन राज्य पक्षबाट नै बेवास्ता गरिरहेको छ कि व्यवस्थापन पक्षको मिलिमतो भएर अस्पतालमा खोप उपलब्ध नराएको सर्वसाधारणले आशंका गरेका छन् ।

अस्पतालमा रेबिज विरुद्धको खोप उपलब्ध नहुँदा प्राईबेट क्लिनिकलाई फाईदै फाईदा भएको एक स्थानीयले बताए । ‘लामो समय देखि अस्पतालमा खोप उपलब्ध नहुनु दुखद हो’ उनले भने, ‘यता प्राईबेट क्लिनिकमा धमाधम रेबिज बिरुद्धको खोपको बिक्री भईरहेको छ ।’ सम्बन्धित निकायले पहल गरि समयमा अस्पतालमा रेबिज बिरुद्धको खोप उपलब्ध गराउन पर्ने उनले मागसमेत गरे ।

अस्पतालले निःशुल्क रुपमा उपलब्ध गराउने रेबिज विरुद्धको खोप लामो समयदेखि अस्पतालमा नहुँदा खोप लगाउन सर्वसाधारण भौतारिनु पर्ने र बढी मुल्य तिर्न बाध्य छन् । अस्पतालमा निःशुल्क उपलब्ध हुने खोपको लागि सर्वसाधारण प्राईबेट मेडिकलमा रु ३ हजार बढी मुल्य चुकाउन बाध्य छन् । बौलाहा कुकुरले टोकेमा पाँच डोज रेबिज बिरुद्धको खोप लगाउनु पर्छ । प्राईबेट क्लिनिकमा रेबिज बिरुद्धको प्रति डोज खोपको रु ६ सय ३५ सर्वसाधारणले तिर्न बाध्य छन् ।
सम्बन्धित निकायको लापरवाहीले निःशुल्क पाउनु पर्ने खोपको लागि सर्वसाधारणले रकम चुकाउन बाध्य छन् । रकम तिर्न सक्नेले किनेर लगाएपनि रकम तिर्न नसक्ने गरिब अतिविपन्न परिवारका सर्वसाधारण यो खोप लगाउँनबाट बञ्चित भईरहेका छन् ।

बौलाहा कुकुरको टोकाईबाट मानिसमा सर्ने रेबिज प्राणघातक रोग हो । यो रोग लागेपछि उपचार हुदैन तर समयमा विचार पु¥याउँदा यो रोगबाट बच्न सकिन्छ ।

गत जेठबाट रेबिज बिरुद्धको खोप सकिएको अस्पतालका सुचना अधिकारी द्रोणविक्रम पन्थीले बताए । ‘रेबिज बिरुद्धको खोप अस्पतालले आफै खरिद गर्दैन,माथिबाट आउँछ’ सुचना अधिकारी पन्थीले भने,‘स्वास्थ्य सेवा विभाग रोग नियन्त्रण महाशाखाबाट प्रदेशीक आपूर्ति केन्द्र हुँदै अस्पतालमा आउने हो ।’ माथिबाट कोटा अनुसार अस्पतालमा खोप आउँछ तर बिरामीको संख्या प्रत्येक वर्ष बढ्ने भएर खोप छिट्टै सकिन्छ । हामीले तीन पटकसम्म रेबिज बिरुद्धको खोप माग गरेका छौं । अझैसम्म प्राप्त नभएको अस्पतालका सुचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय