उत्साहजनक राजस्व असुली भईरहेको छ : गुलरिया छोटी भन्सारका प्रमुख बस्नेत
सोमबार, साउन २२, २०८० मा प्रकाशित

बर्दिया,साउन २२ (फरकसमाचार)/ आजभोलि उत्साहजनक राजस्व असुली भईरहेको गुलरिया छोटी भन्सार कार्यालयका प्रमुख मनोज बस्नेतले बताएका छन् । विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा जाँचपास गराएर राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था सरकारले कार्यान्वयन गरेपछि उत्साहजनक राजस्व असुली भईरहेको कार्यालय प्रमुख बस्नेतले बताएका हुन् ।

 

‘सरकारले गत जेठ १५ गते सुचना प्रकाशित गरि विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था ल्याएको छ’ कार्यालय प्रमुख बस्नेतले भने,‘सोही कानुनी व्यवस्था अनुसार सिमामा कडाई भएको छ ।’ भारतसंग बर्दिया जिल्लाको ८३ किलोमिटर खुल्ला सिमा छ । सर्वसाधारणको जानकारीको लागि सिमानाकाको विभिन्न स्थानमा होडिङ्ग बोर्ड राखेका छौं । एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने बोर्डमा स्पष्ट लेखिएको छ । त्यो भन्दा बढीको मालसामान ल्याउने जोकोहीले अनिवार्य राजस्व तिर्न पर्छ । चोरी पैठारी गरि मालसामान भित्रियाउनेलाई सुरक्षाकर्मीको समन्वयमा भन्सारले धमाधम नियन्त्रणमा लिएको कार्यालय प्रमुख बस्नेतले दाबी गरे ।

सिमित स्रोत साधनको उपलब्धतामा गुलरिया छोटी भन्सार कार्यालयले उत्साहजनक राजस्व असुली गरिरहेको छ । सरकारलाई तिर्ने राजस्व छल्न पाईदैन । छोटी भन्सारले भन्सार गर्न अनुमति पाएको मालसामान मुख्य बाटो हुँदै ल्याएन सकिन्छ । तर,भन्सार नभएको नाकाबाट अबैध रुपमा मालसामान ल्याउन नपाईने प्रमुख बस्नेतले बताए । ‘मेरो काम सरकारको लागि राजस्व संकलन गर्ने हो’ प्रमुख बस्नेतले भने,‘बढी भन्दा बढी राजस्व संकलन गर्न राति पनि सिमानाकामा अनुगमन गरिरहेको छु ।’

गत आर्थिक वर्षमा भन्सार कार्यालयको रु २ करोड ८० हजार ९६ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको थियो तर, रु १ करोड ३३ लाख ४९ हजार १ सय ४ राजस्व संकलन गरि सिमित बन्यो ।

विगतमा यस्तो कानुनी व्यवस्था नहुँदा भन्सारले वार्षिक लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको थिएन । एक सय भन्दा बढीको मालसामानमा राजस्व लाग्ने कानुनी प्रावधान कार्यान्वयन भएपछि यस वर्ष राजस्व संकलन गर्ने वार्षिक लक्ष्य भन्सारले सजिलै पुरा गर्न सकिने अनुमान लगाउन सकिन्छ ।

एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने सुचना आईसकेपछि जिल्लाका नाकामा कडाई भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । शुरुमा सर्वसाधारणलाई सुचनामार्फत सचेत बनाएका छौं । ‘बिस्तारै सर्वसाधारणहरु बुझ्दै गएका छन्, आजभोली भारतीय बजार तर्फ सामान लिन जानेको संख्या घटेको छ’ प्रमुख जिल्ला अधिकारी रिसालले भने,‘अटेर गरि ल्याईएका सामान सिमामा खटिएका सुरक्षाकर्मीद्वारा जफत गरि भन्सारमा बुझाउने काम भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर