बर्दिया,साउन २४ (फरकसमाचार) / लगातार तीन दिनको वर्षातले बबई नदीमा आएको बाढी बस्तीमा पसेको छ । बबई नदीमा आएको बाढी गुलरिया नगरपालिका–११ बाँधुपुर र वडा नंम्बर ५ बालापुरमा पसेको हो । बाँधुपुरको करिब दर्जन बाढी घरमा र बालापुरको केही घरमा मंगलबार बबई नदीको बाढी पसेको हो ।
बबई नदी ओभर फ्लो भएर पानी बाहिर फाल्दा गुलरिया नगरपालिका–११ भैसाही र टाडुवा जाने बाटो अबरुद्ध भएको थियो । बबई नदीको पानी घरमा पसेर सडकमा बसिरहेको गुलरिया नगरपालिका–११ का राजु थारुले बताए । ‘घरमा घुँडा घुँडा पानी भरिएको छ’ थारुले भने,‘ जबसम्म घरमा भरिएको पानी सुक्दैन तबसम्म सडकमै बास हुन्छ ।’ पानी भरिदाँ घरको सामान सडकमा ल्याएर राखेको थारुले जानकारी दिए ।
बस्तीमा बबईको पानी पस्दा कुनै किसिमको मानविय क्षति भएको छैन । बबई नदीको सतह बढ्दा मंगलबार बिहान देखि प्रशासनले तटीय क्षेत्रमा रहेका बस्तीलाई सतर्कता अपनाउन सचेत गरेको थियो ।
गुलरिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाका केही बस्तीहरुमा सामान्य पानी पसेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘ठाकुरबाबा नगरपालिकाको वडा नंम्बर ६,७ र गुलरिया नगरपालिकाको वडा नंम्बर ५ बालापुर र वडा नंम्बर ११ भादा पारीका केही घरमा पानी पसेको हो’ प्रजिअ रिसालले भने,‘सामान्य पानी पसेको हो ।’ स्थानीयहरु नजिकको सुरक्षित स्थानमा गएका छन् । ठाकुरबाबा नगरपालिकाको वडा नंम्बर ६ र ७ मा करिब १ सय ४० घरपरिवारको घरमा पानी पसेको छ । एकिन तथ्यांक आएको छैन । एकिन तथ्यांकको लागि रेडक्रस र पालिकाको समन्वयमा विवरण संकलन भईरहेको छ ।
बाढी पिडित परिवारको लागि ठाकुरबाबा नगरपालिकाले खानाको व्यवस्था गरेको छ । नदीमा पानीको सतह घट्ने क्रममा छ । साँझ सम्म उहाँहरुको घरमा पानी सुक्यो भने ठिकै छ । यदि पानी सुकेन भने पालिकासंग समन्वय गरि बस्नको लागि उचित व्यवस्थापन गर्ने जनाए । त्यसैगरी मधुवन नगरपालिका–२ स्थित औराही खोलामा रहेको पुलको छेउको सडक भत्किएर बाटो अबरुद्ध भएको प्रजिअ रिसालले जानकारी दिए ।
त्यसैगरी मंगलबार काठियाघाट पुलबाट अन्दाजी ६० वर्षको एक जना व्यक्तिले हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए । हाम फाल्ने व्यक्तिको पहिचान नखुलेको डिएसपी बोहराले जनाए ।