गुलरिया बजार क्षेत्रमा बौलाहा कुकुरको आतंक बढ्दै
शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

कुकुरले टोकेर अस्पतालमा एकै दिन लगाए १५ जनाले रेबिज विरुद्धको खोप

बर्दिया,साउन २६ (फरकसमाचार)/ गुलरिया बजार क्षेत्रमा बौलाहा कुकुरको आतंक बढ्दै गएको छ । सडकमा हिड्ने सर्वसाधारणलाई बौलाहा कुकुरले टोक्ने क्रम बढेको हो । गुलरिया बजारको हुलाक चोक क्षेत्रमा बिहीबार एकै दिनमा दुई जनालाई बौलाहा कुकुरले टोकेर घाईते बनाएको छ । बौलाहा कुकुरले सर्वसाधारणलाई टोक्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

गुलरिया नगरपालिका–७ का दिपेन्द्र राठोरलाई बिहीबार हुलाक चौक नजिक कुकुरले टोकेको छ । चाट पसलमा काम गरिरहेको बेला पछाडिबाट चालै आएर खुट्टामा कुकुरले टोकेको राठोरले बताए । ‘यो कुकुर बौलाएको छ’ राठोरले भने,‘बाटोमा हिड्ने सर्वसाधारणलाई पनि यो कुकुरले झाम्टिने गरेको छ ।’
सोही छाडा भुस्याहा कुकुरले हुलाक चौक नजिकै अन्य एक जना बाटोमा हिड्ने सर्वसाधारणलाई टोकेको प्रत्यक्षदर्शी खगेन्द्र लामिछानेले बताए ।

बौलाहा छाडा भुस्याहा कुकुरलाई समयै नियन्त्रण नलिए अन्य व्यक्तिलाई टोकेर घाईते बनाउन सक्ने जोखिम बढेको स्थानीयले बताएका छन् । सम्बन्धित निकायले छाडा भुस्याहा कुकुर व्यवस्थापनको लागि पहल गर्न स्थानीयले माग गरेका छन् ।

बर्दिया अस्पतालमा बिहीबार एकै दिन १५ जनाले रेबिज विरुद्धको खोप लगाएको अस्पतालका सुचना अधिकारी द्रोण विक्रम पन्थीले बताए । जसमा गुलरिया नगरपालिकाका ११ र अन्य पालिकाका ४ जना रहेको सुचना अधिकारी पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर