बर्दिया,साउन २८ (फरकसमाचार) / जनमत पार्टीले आफ्ना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको मतदानमार्फत मुल्याङकन गरेको छ । गुलरिया नगरपालिका–१० का वडा अध्यक्ष लक्ष्मी नारायण लोधको मतदान प्रक्रियामार्फत शनिबार जनमत पार्टीले आन्तरिक मुल्याङकन गरेको हो ।
जनमत पार्टीको राइट टु रिकल व्यवस्था अनुसार मतदान गराईएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघिय सांसद अब्दुल खानले बताए । ‘हाम्रो पार्टीबाट निर्वाचित वडा अध्यक्षले जनताको चाहना अनुसार काम गरे कि गरेनन,यस मतदान प्रक्रियाले देखाएको छ’ जनमतका राष्ट्रिय उपाध्यक्ष खानले भने,‘यो प्रक्रिया ऐतिहासिक रुपमा पहिलो पटक जनमत पार्टीले सुरुवात गरेको छ ।’ मतदान प्रक्रिया मार्फत गुलरिया नगरपालिका–१० का वडा अध्यक्ष लक्ष्मी नारायणको काम सन्तोषजनक पाईएको छ ।
जनमत पार्टीको उक्त प्रयासलाई ‘राइट टु रिकल’को आन्तरिक अभ्यासका रुपमा लिइएको छ । आफ्ना पार्टीका नेता स्थानीय तहमा निर्वाचित भएपछि कति काम भयो, उनीहरुको काम गराईबाट नागरिक सन्तुष्ट छन् कि छैनन् तथा उनीहरुको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्याङकन गर्न पार्टीभित्र मतदान गर्ने प्रक्रिया अपनाइएको जनाईएको छ ।
गुलरिया नगरपालिका–१० अन्तर्गत जनमत पार्टीमा सदस्यता लिएका सदस्यहरुले शनिबार मतदान गरेको जनमत पार्टीका जिल्ला प्रवक्ता राम दुलारे सोनकारले बताए । ‘जम्मा ६ सय ५० मत खसेको छ’ प्रवक्ता सोनकारले भने,‘जसमा वडा अध्यक्ष लोधको पक्षमा ५ सय ३२ मत खसेको छ ।’ वडा अध्यक्ष लोधले प्राप्त गरेको मतको आधारमा वडा नंम्बर १० मा बेहतर काम भएको बुझिन्छ । ७७ मत लोधको विपक्षमा खसेको थियो भने ४१ मत बदर भएको प्रवक्ता सोनकारले जानकारी दिए ।