बर्दिया,साउन ३० (फरकसमाचार)/ चिकित्सा शिक्षा आयोग र सिटिईभिटीले ल्याएको नयाँ कार्य नीतिको विरोधमा निजी कलेजहरु उत्रिएका छन् । नयाँ कार्य नीतिको विरोध गर्दै १५ बुँदे मागसहित भेरी कलेज अफ मेडिकल साइन्स गुलरियाले सोमबार विरोध प्रदर्शन गरेको हो । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालको आह्वानमा भेरी कलेज अफ मेडिकल साइन्स गुलरियाले विरोध प्रदर्शन गरेको छ ।
चिकित्सा शिक्षा आयोग र सिटिईभिटिले ल्याएको नयाँ कार्य नीतिको विरोधमा उत्रिएको भेरी कलेज अफ मेडिकल साइन्स गुलरियाका प्रमुख सुधाकर मिश्राले बताए । ‘चिकित्सा शिक्षा र सिटिईभिटिले ल्याएको नयाँ कार्य नीति विभेदकारी छ’ मिश्राले भने,‘चिकित्सा शिक्षाले ल्याईएको नयाँ कार्य नीतिले चालु शैक्षिक शत्रमा ७३ वटा नर्सिङ कलेज बन्द भएका छन् ।’ यस नीतिले देशका अन्य शैक्षिक संस्थासहित २ सय २८ वटा बन्द हुने अवस्थामा छन् । यसले गर्दा प्राविधिक शिक्षा धरापमा परेको छ । चिकित्सा शिक्षाले ल्याएको नयाँ नीतिले देश निजी कलेज बन्द गर्ने र विदेशी कलेजलाई पोस्ने काम भएको प्रमुख मिश्राले जनाए ।
प्राविधिक शिक्षा दिन संचालनमा रहेका निजी कलेजहरु बन्द हुने भएका छन् । निजी कलेजहरु यति बेला देशव्यापी रुपमा आन्दोलित भएको प्रमुख मिश्राले जानकारी दिए ।
नेपाल सरकारको खुला अर्थनीति तथा निजी सरकारी साझेदारीको नीति विपरीत हुने गरी निजी शिक्षण संस्था र सामुदायिक वा राज्यबाट लगानी गरिएका शिक्षण संस्थाहरूमा ऐनको विभेदकारी प्रयोग बन्द गर्नुपर्ने, सिटिईभिटिल ऐन २०४५ अनुसारको मापदण्डको अधारमा सञ्चालित प्रमाण पत्र तहको भर्ना अवरुद्ध भएका ७३ बटा नर्सिङ कलेजको भर्ना विना सर्त सुचारु गर्नुपर्ने, चिकित्सा शिक्षाका विषयहरू एम.वि.वि.एस. र वि.डि.एस. बाहेकका स्वास्थ्य विज्ञान विधाका विभिन्न विषयहरूका शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षामा रेमिटको आधारमा नतिजा प्रकाशन गरी म्याचिङ प्रक्रिया सरलीकृत गरी कक्षा १२ को नतिजा प्रकाशन भएको २ महिना भित्र कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने लगायतमाग राखी १५ बुँदे ज्ञापन पत्र बुझाइएको प्रमुख मिश्राले जानकारी दिए ।