डिलप्रकाश गौतम
बर्दिया,भदौ २/ बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुले मोटरसाईकल दुर्घटनाबाट ज्यान गुमाएकी शिक्षिकाको परिवारलाई १० लाख हस्तान्तरण गरेका छन् । एनआईसि एसिया बैंक जयनगर शाखामा नगर प्रमुख थारुले मोटरसाईकलबाट ज्यान गुमाएकी शिक्षिका रिता कुमारी भूषालको छोरा संजीव रिजाललाई शुक्रबार १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
एनआईसि एसिया बैंकले ल्याएको एम्वेष्टर पोलिसिमा बारबर्दिया नगरपालिकाले पालिकामा कार्यरत सबै कर्मचारीहरुको सर्वश्रेष्ठ बारबर्दिया नगरपालिका बचत खाता संचालन गरेको थियो । उक्त खाता संचालन गरे वापत बैंकले १० लाखको दुर्घटना विमा, १० लाखको १८ वटा प्राणघातक रोगको विमा र १ लाखसम्म स्वास्थ्य विमा निशुल्क गरेको थियो । गत बर्ष जेठ ८ गते बारबर्दिया नगरपालिका वडा नं. ७ बस्ने शिक्षिका रिता कुमारी भूषालको मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो ।
बैंकले उक्त खाता संचालन गरेवापत १० लाखको दुर्घटना विमा परिवारलाई हस्तान्तरण गरेको एनआईसि एसिया बैंक जयनगर शाखाका प्रमुख रोहित कुमार विष्टले जानकारी दिए । मृतकका परिवारलाई चेक हस्तान्तरण गर्दै बारबर्दिया नगर प्रमुख छवीलाल थारुले पोलिसि अनुसार आफ्नो प्रतिबद्धता पुरा गरेकोमा पालिकाको तर्फबाट बैंकलाई धन्यवाद ज्ञापन गरे ।
विमा हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सहित उप–प्रमुख रत्नाकुमारी पाण्डे, एनआईसि एसिया बैंक उपप्रदेश कार्यालय नेपालगंजका प्रमुख माधव बेल्वासे, शाखा प्रमुख रोहित कुमार विष्ट र पालिकाका वडा अध्यक्ष र शिक्षकको सहभागिता रहेको थियो ।