जनमतले गर्यो लुम्बिनी प्रदेश सांसद सुमनको आन्तरिक मूल्याङकन
आइतबार, भदौ ०३, २०८० मा प्रकाशित

बर्दिया,भदौ ३(फरकसमाचार) / जनमतले लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीको मतदान गराएर आन्तरिक मुल्याङकन गरेको छ । जनमतले गुलरिया नगरपालिका–५ बागेश्वरी बोडिङ स्कुलमा शनिबार मतदान गराई प्रदेश सांसद रायमाझीको आन्तरिक मुल्याङकन गरेको हो ।

पार्टी भित्रको मुल्याङकनमा सम्पुर्ण मत पक्षमा खस्नु पर्ने हो तर शनिबार गराईएको मतदानमा लुम्बिनी प्रदेश सांसद रायमाझीको विपक्षमा पाँच मत खसेको छ । यसरी प्रदेश सांसद रायमाझीको काम गराईबाट पार्टीकै पाँच जना असन्तुष्ट रहेको पाईएको छ ।

जनमत पार्टीमा रहेको ‘राइट टु रिकल’ व्यवस्था अनुसार निर्वाचित सम्पुर्ण जनप्रतिनिधिहरुको मतदानमार्फत मुल्याङकन गर्ने प्रावधान छ । सोही व्यवस्था अनुसार लुम्बिनी प्रदेश सांसद रायमाझीको मतदानमार्फत मुल्याङकन गरिएको छ ।

आफ्ना पार्टीका नेता निर्वाचित भएपछि कति काम भयो, जनताको चाहना अनुसार काम भयो कि भएन, उनीहरुको काम गराईबाट नागरिक सन्तुष्ट छन् कि छैनन् तथा उनीहरुको व्यवहार कस्तो छ लगायतका विषयमा मूल्याङकन गर्न पार्टीभित्र मतदान गर्ने प्रक्रिया अपनाइएको छ ।

मतदान गराएर निर्वाचित जनप्रतिनिधिहरुको मुल्याङकन गर्ने जनमत पहिलो पार्टी रहेको जनमतका जिल्ला प्रवक्ता राम दुलारे सोनकारले बताए । ‘प्रदेश सांसद रायमाझीको मुल्याङकनको लागि गरिएको मतदानमा जम्मा १ सय ४१ मत खसेको छ’ जिल्ला प्रवक्ता सोनकारले भने,‘जस मध्ये १ सय ३४ मत रायमाझीको पक्षमा, ५ मत विपक्षमा र २ मत बदर भएको छ ।’

मतदानमार्फत गरिएको मुल्याङकनमा प्रदेश सांसद रायमाझीको काम गराई सन्तोषजनक देखिएको मतदान अधिकृत तथा जनमतका जिल्ला सचिव प्रवेश लोधले बताए । जनमत जिल्ला समन्वय समितिका सम्पुर्ण पदाधिकारी, केन्द्रिय सदस्य, भातृ संगठनका प्रमुख, नगर समितिका प्रमुख, राष्ट्रिय परिषद सदस्य र प्रदेश सदस्यहरुले मतदान गरेका थिए । साथै प्रदेश सांसद रायमाझीले शनिबार रिबन काटेर गुलरियामा जनमत पार्टीको कार्यालय उद्घाटन गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय