बर्दिया,भदौ ४ (फरकसमाचार) / सरकारले गत जेठ १५ गते सुचना प्रकाशित गरि विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था ल्याएको छ । बर्दिया जिल्लाको ८३ किलोमिटर भारतसंग खुल्ला सिमाना छ । भारतीय बजारबाट अबैध रुपमा सामान नल्याउन सिमामा कडाई पनि गरिएको देखिन्छ । सर्वसाधारणको लागि सिमानाकाको विभिन्न स्थानमा एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने ठुला अक्षरले लेखिएको होडिङ्ग बोर्ड राखिएको छ ।
तर भारतीय बजारबाट ल्याएको सामान प्रहरीले धमाधम बरामद गरेको पाईएको छ । भारतबाट ल्याईएको बेवारिसे अवस्थामा विभिन्न सामान प्रहरीले आइतबार बरामद गरेको छ । बढैयाताल गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले चिसो, भेली, मैदा, सुर्ती, पेनलगायत सामान बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार बरामद बेवारिसे सामान मुल्य रु ४२ हजार ३ सय १० बराबरको छ । त्यसैगरी बढैयाताल गाउँपालिका क्षेत्रबाट शनिबार मुल्य रु १७ हजार १ सय ४० बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो । प्रहरीले सिमा क्षेत्रमा दिनहुँ अबैध सामान बरामद गर्दा तस्करी अझै नरोकिएको पुष्टि हुन्छ ।
विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा जाँचपास गराएर राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था सर्वसाधारणको लागि मात्र रहेको एक स्थानीयले बताए । ‘सिधासाधा सर्वसाधारणले ल्याएको सामान प्रहरीले सजिलै जफत गर्छ’उनले भने,‘किन भने सर्वसाधारणले दिनमा मुख्य बाटो भएर ल्याउँछन् ।’ तर, राति तस्करी गर्नेहरुले सजिलै सामान ओर्साछन् । दिनमा जसरी सर्वसाधारणले ल्याएको सामान जफत गरिन्छ, त्यसैगरी राति तस्करी गर्नेहरुले ल्याउने सामान रोक्न उनले सम्बन्धित निकायसंग मागसमेत गरेका छन् ।