बर्दिया,भदौ ५(फरकसमाचार) / पहिला संचालनमा रहेका छोटी भन्सार संचालन व्यवस्थापनको लागि संघिय सांसद अब्दुल खानले भन्सार विभागका महानिर्देशकलाई भेटेका छन् । बर्दिया जिल्लाको भन्सार सम्बन्धि देखिएका समस्य समाधान गर्न र विषेश गरी गुलरिया नगरपालिका–११ गणेशपुर तथा भारतको लौकाही सिमामा छोटी भन्सार राख्न संघिय सांसद खानले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई त्रिपुरेश्वर काठमाडौंमा सोमबार भेटेका हुन् ।
बर्दिया जिल्लाको गणेशपुर लौकाहीलगायत सिमामा छोटी भन्सार नहुँदा सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको संघिय सांसद खानले महानिर्देशक पौडेललाई अवगत गराएको जनाएका छन् । विस २०५२ सालसम्म गणेशपुर लौकाही सिमामा छोटी भन्सार संचालनमा थियो । त्यसपछि माओवादी लडाइका कारण त्यस स्थानबाट छोटी भन्सार हटाईयो । बर्दिया जिल्लाको ८३ किलोमिटर भारतसंग खुल्ला सिमाना छ । गणेशपुर लौकाहीलगायत सिमाको छोटी भन्सार सुचारु गर्न दुवै जना बिच सकारात्मक छलफल भएको जनाईएको छ ।
सरकारले गत जेठ १५ गते सुचना प्रकाशित गरि विदेशबाट एक सय बढीको मालसामान ल्याउँदा राजस्व बुझाउनु पर्ने कानुनी व्यवस्था ल्याएको छ । गणेशपुर लौकाहीलगायत सिमामा छोटी भन्सार नहुँदा स्थानीयहरु सास्ती व्यहोर्न बाध्य रहेको संघिय सांसद खानले बताए । यस ठाउँमा तत्काल छोटी भन्सार कार्यालय राख्न महानिर्देशक पौडेलसंग माग गरेको सांसद खानले जानकारी दिए ।
सो स्थानहरुमा भारत तर्फ कस्टम नभएकोले नेपाल तर्फ भन्सार राख्न गाह्रो भईरहेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जवाफ दिएका छन् । यस क्षेत्रमा भन्सार राख्दा दुवै देशका नागरिक र व्यवसायीलाई सहज हुनेछ । यस स्थानहरुमा भन्सार राख्ने विषयमा भारतीय कस्टम विभागसंग आफुले समन्वय गर्ने महानिर्देशक पौडेलले छलफलमा जनाएको संघिय सांसद खानले जानकारी दिएका छन् ।