बर्दिया,भदौ १५(फरकसमाचार)/ बेपत्ता पारिएका व्यक्तिहरुको १३औं अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । १३औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार बेपत्ता परिवारका आफन्तले अन्तरक्रिया, वृक्षारोपण तथा दीप प्रज्वलन गरि आफन्तलाई स्मरण गरेका छन् ।
बेपत्ताहरु किन सार्वजनिक भएनन् ? कानुनी र राजनैतिक प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम गुलरियामा र बारबर्दिया नगरपालिका–१० कुम्भर अड्डा योद्धा स्मृति पार्कमा आयोजना गरियो । अन्तरक्रिया कार्यक्रममा उपस्थित बेपत्ताका आफन्तको पिडाको चांङ त्यस्तै देखियो । देशमा शान्ति सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि बेपत्ता परिवारको समस्या समाधान हुन सकेको छैन । देशमा विभिन्न सत्ताको सरकार फेरियो तर बेपत्ता परिवारको समस्या फेरिएन । राज्य पक्षबाट बेपत्ता पारिएका आफन्तको बारेमा सत्य तथ्य जानकारी सरकारले अझै सार्वजनिक गरेको छैन ।
विस २०५९ साल देखि छोरा प्रेमलाल थारुलाई राज्यपक्षले बेपत्ता बनाएको गुलरिया नगरपालिका–१२ का रैमान थारुले बताए । ‘घरमा सुतेको बेला छोरालाई नेपाली सेनाले लग्यो’ उनले भने,‘२१ वर्ष बितिसक्दा अत्तोपत्तो छैन ।’
विस २०५८ साल चैत २९ गते १६ वर्षिय छोरा रघुलाल थारुलाई बेपत्ता बनाएको गेरुवा गाउँपालिका–६ का श्रीपदम थारुले बताए । ‘राति १२ बजे ढोका ढकढक गर्दा ढोका खोले’ थारुले भने,‘ढोका खोल्ने बित्तिकै पोशाक लगाएका अर्मी घरमा पसे ।’ छोरा सुतेको थियो । छोरालाई घिसार्दै बाहिर ल्याएँ । अनुसन्धानको लागि लग्छौ भोली छोरा आउँछ भनेर छोरालाई लगेको थारुले सुनाए । छोरालाई नलैजानु भनि श्रीमति संन्चुरियाले छोडाउन खोजिन् । छोरालाई छोडाउदा अर्मीले घुसाले प्रहार गर्यो । छोरा आझैसम्म बेपत्तै छ । अर्मीले घुसाले प्रहार गर्दा श्रीमति संन्चुरियाको अझै गिर्खा छ । उपचारसमेत नपाएको उनले जनाए । मेरो छोरासहित एकैरात गाउँबाट ८ जनालाई बेपत्ता बनाईएको उनले जानकारी दिए ।
२१ वर्षको उमेरमा श्रीमानलाई राज्य पक्षबाट बेपत्ता बनाईएको बारबर्दिया नगरपालिका–१ की देविसरा ओलीले बताईन् । आफन्त घुमाएको पिडाको आसार त्यस्तै छ । सामाजको दृष्टिकोण र राज्यबाट अपहेलित हुनु परेको उनले सुनाईन् । बालबालिकालाई हुर्काउन त्यस्तै पिडा छ । बेपत्ता पारिएका आफन्तको स्थिती राज्यले सार्वजनिक नगर्दा झन् पिडा परेको छ । बेपत्ता आफन्तको नाममा भएको धनसम्पत्ती नामसारी गर्न खोज्दा मृत्यु दर्ता लगायत विभिन्न झन्झठिलो प्रक्रिया रहेको उनले सुनाईन् ।
अन्तरक्रियालाई सम्बोधन गर्दै बेपत्ताको सत्य तथ्य स्थिती राज्यले छिट्टै सार्वजनिक गर्नुपर्ने संविधान सभाका पुर्व उप–सभामुख पूर्णा कुमारी सुवेदीले बताईन् ।
लामो समय बितिसक्दा पनि हामीहरु आफन्तको खोजीमा लागिरहेको कुम्भर अड्डा योद्धा स्मृति पार्क समितिका अध्यक्ष निरंजन चौधरीले बताए । ‘हाम्रो आफन्तहरु कहाँ छन्,सत्य तथ्यको लागि राज्यसंग एक सुत्रिय प्रश्न छ’ अध्यक्ष चौधरीले भने,‘शान्ति सम्झौता भएको लामो समय भयो ।’तर हामीले अझै ठोस जवाफ पाएँका छैनौं । जबसम्म जवाफ पाउँदैनौ तबसम्म हामीले एक सुत्रिय पश्न गरिरहने उनले सुनाए ।
द्वन्द्व कालमा भएका घटनाको सन्दर्भमा बेपत्ता परिवारको लागि अहिलेसम्म जति काम हुनु पर्ने हो त्यति नभएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘कत्ति पनि काम नभएको होइन’ प्रजिअ रिसालले भने,‘विभिन्न कारणले राज्यको तर्फबाट ढिलो भएको छ ।’ बर्दिया जिल्ला प्रशासनको तथ्यांक अनुसार २ सय ५४ जना बेपत्ता रहेको जनाए । जिल्ला स्थित रहेका सरकारी कार्यालयबाट दैनिक संचालन हुने सेवामा बेपत्ता परिवारलाई सहजीकरण गर्दै आएको जनाए । बेपत्ता परिवारको न्यायको लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रजिअ रिसालले जनाए ।