बर्दिया,भदौ १७(फरकसमाचार)/ कैद सजाय भोगिरहेका एक कैदी कारागारबाट फरार भएका छन् । ठाकुरबाबा नगरपालिका–८ का ३२ वर्षिय अजिब बुढाक्षेत्री आइतबार बिहान ३ बजे कारागारबाट फरार भएका हुन् । ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्री पुनःदोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएका छन् ।
कारागार कार्यालयको छतबाट हाम फालेर पर्खालबाट बुढाक्षेत्री भागेको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । कारागारबाट फरार भएका बुढाक्षेत्रीलाई प्रहरीले खोजतलास गरिरहेको प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।
बुढाक्षेत्रीले ०७२ साल चैत ५ गते राती घरमा सुतिरहेका ६९ वर्षिय जोरे थापालाई गड्सा प्रहार गरि हत्या गरेका थिए । हत्या गरेको आरोपमा प्रहरीले बुढाक्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो । २५औं दिनमा बयानको लागि अदालत लैजाँदा शौचालय गर्न जान्छु भनि अदालतको शौचालयको भेन्टिलेशन भत्काएर प्रहरीलाई भुक्काएर बुढाक्षेत्री फरार भएका थिए ।
फरार भएका बुढाक्षेत्रीलाई प्रहरीले ७ वर्षपछि गत वर्ष कार्तिकमा पक्राउ गरेको थियो । ०७३ साल पौष २४ गते जिल्ला अदालतले गरेको आदेशले कर्तव्य ज्यान मुद्दामा क्षेत्रिलाई १९ बर्ष ११ महिना ६ दिन कैद र थुनुवा भागे भगाएको मुद्दासमेतमा गरी ३० बर्ष कैद सजाय तोकिएको थियो ।