कैदी फरार प्रकरण : सहायक प्रजिअ अर्यालको नेतृत्वमा छानबिन समिति गठन
मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

बर्दिया,भदौ १९(फरकसमाचार) / कैद सजाय भोगिरहेका कर्तव्य ज्यान मुद्दाका कैदी कारागारबाट फरार भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको हो ।

पहिलो प्राथमिकता फरार कैदीलाई खोज्न हो र कसको कमी कम्जोरीले कैदी फरार भएको छानबिन गर्न समिति गठन भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘फरार कैदीलाई खोज्न नेपाल प्रहरी १ सय ३० र सशस्त्र प्रहरी २ सय ३० जना परिचालन भएका छन्’सहायक प्रजिअ अर्यालले भने,‘सोमबार साँझ ५ बजेसम्म फरार कैदी भेटिएको छैन ।’ कुकुर पनि प्रयोग गरिएको छ । आइतबारबाट बोर्डर सिल गरि खोजतलास जारी छ । गठन भएको छानबिन समितिले सिसि टिभी फुटेज हेर्ने र कैदी कसरी फरार भयो बारे आन्तरिक रुपमा अनुसन्धान गर्छ । अनुसन्धान प्रतिवेदन बुझाउने ठ्याक्कै समय तोकिएको छैन । छिटो भन्दा छिटो अनुसन्धान गरि प्रतिवेदन बुझाउने तयारीमा रहेको सहायक प्रजिअ अर्यालले जानकारी दिए ।

छानबिन समितिमा सहायक प्रजिअ मोहन प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालयका डिएसपी हिक्मत बहादुर बोहोरा, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप कार्की, जिल्ला प्रशासनका प्रशासनिक अधिकृत लोकप्रसाद ढकाल र अनुसन्धान विभागका अधिकृत गोपाल थापा रहेको जनाईएको छ ।

ठाकुरबाबा नगरपालिका–८ का ३२ वर्षिय अजिब बुढाक्षेत्री आइतबार बिहान सवा तीन बजे कारागारबाट फरार भएका हुन् । अदालतबाट ३० वर्ष कैद सजाय पाएका बुढाक्षेत्री कारागारबाट फरार भएका छन् ।

बुढाक्षेत्रीले ०७१ सालमा राती घरमा सुतिरहेका ६९ वर्षिय जोरे थापालाई गड्सा प्रहार गरि हत्या गरेका थिए । हत्या गरेको आरोपमा प्रहरीले बुढाक्षेत्रीलाई अनुसन्धानको क्रममा हिरासतमा राखेको थियो । २५औं दिनमा बयानको लागि अदालत लैजाँदा शौचालय गर्न जान्छु भनि अदालतको शौचालयको भेन्टिलेशन भत्काएर प्रहरीलाई भुक्काएर बुढाक्षेत्री फरार भएका थिए । फरार बुढाक्षेत्रीलाई आठ वर्षपछि प्रहरीले गत कार्तिकमा पक्राउ गरेको थियो । दश महिना कैदन सजाय भुक्तान गरि पुनःदोस्रो पटक बुढाक्षेत्री फरार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय