बर्दिया,भदौ २१(फरकसमाचार) / भजन किर्तनसहित गुलरियामा आज(बिहीबार) रथ यात्रा निकालिने जनाईएको छ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज राधाकृष्ण रथ यात्रा निकालिने जनाईएको हो । गुलरिया नगरपालिका–६ बिद्युत पछाडि (आदर्श नगरटोल)मा अवस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ बजे रथ यात्रा निकालिने जनाईएको छ । उक्त झाँकीमा भक्तजनहरुलाई सहभागि हुन रथ यात्रा समितिले निमन्त्रणासमेत गरेको छ । गुलरियामा पहिलो पटक बग्गीमा सजिएका राधाकृष्ण राखेर आकर्षक झाँकी निकालिन लागिएको छ ।
बिहीबार दिउँसो ३ बजे राधाकृष्ण मन्दिर परिसर देखि निकालिने रथ यात्रा निलो आयल पेट्रोल पम्म हुँदै गणेशमान चोक पुग्ने रुट छ । रथ यात्रा बगलामुखी मन्दिर, हुलाक चोक, राधाकृष्ण चोक हुँदै पुनःराधाकृष्ण मन्दिर पुगी सकिने जनाईएको छ ।
रथ यात्राको लागि नेपालगंजबाट बग्गी ल्याईएको राधाकृष्ण रथ यात्रा समितिका संयोजक ईन्द्र कुमार श्रेष्ठले बताए । ‘आफ्नो घर अगाडि राधाकृष्णको रथ आउँदा पुजासमेत गर्न सकिन्छ’ संयोजक श्रेष्ठले भने,‘रथ यात्रा सकिए लगत्तै बेलुकी ६ बजे राधाकृष्ण मन्दिरमा भण्डाराको आयोजना गरिएको छ ।’ भक्तजनहरु रथ यात्रामा सहभागी भई शोभा बढाउन र प्रसाद ग्रहण गर्न संयोजक श्रेष्ठले अनुरोध गरे ।