बर्दिया, भदौ २२ (फरकसमाचार) / भेस्टिज नेटवर्किङ विजनेसका एजेन्टहरुले बजार मुल्य भन्दा तीन गुणा बढी मुल्यमा सामान बिक्री गरेको पाईएको छ । भेस्टिका एजेन्टहरुले औषधीलगायत विभिन्न किसिमका दैनिक प्रयोग हुने सामानहरु बजार मुल्य भन्दा तीन गुणा बढी मुल्यमा बिक्री गरिरहेको पाईएको हो । भेस्टिजका एजेन्टहरु घर घरै परिचालित भई महंगोमा विभिन्न किसिमका सामान बेच्दै हिडिरहेका छन् । भेस्टिजका नेटवर्किङ गर्ने भारतीय गिरोहको ईसारामा परिचालित भएका नेपाली एजेन्टहरुले प्रोडक्ट बेच्न सर्वसाधारणलाई नयाँ एजेन्ट बनाए वापत छुट्टै कमिशन पाउने गरेका छन् ।
सर्वसाधारणलाई ठग्न नेपाली एजेन्ट मार्फत बढी मुल्य असुल गर्ने भारतिय गिरोह सक्रिय देखिएको छ । झोलामा लुकाएर घर घर लग्ने भेस्टिजका सामानको समय समयमा लेबलसमेत फेरिने गरेको पाईएको छ । भेस्टिजले नेटवर्क मार्फत दिईने मंहगो सामान सर्वसाधारणसँग अग्रिम रकम असुल गरेर एजेन्ट मार्फत उक्त कम्पनीले भ्याट छलिरहेको छ ।
घरमा बसेर पनि राम्रो आम्दानी गर्न सक्ने प्रलोभन देखाई सर्वसाधारणलाई धमाधम एजेन्ट बनाई रहेको तथ्य खुलेको छ । भारतीय गिरोहको प्रलोभनमा परी नेपाली एजेन्टले सर्वसाधारणलाई ललाई फकाई भेस्टिजका प्रोडक्ट बेच्न प्रोत्साहित गरिरहेको स्रोतको दावी छ । भेस्टिजका प्रोडक्ट बेच्न बनाईएका नयाँ एजेन्टहरुको लागि भोली शनिबार गुलरियाको एक होटेलमा मोटिभेसलन तालिमको आयोजनासमेत गरिएको स्रोतले बताएको छ ।
फुड सप्लिमेन्टको नाममा (निम,एलोभरा,क्यालसियम) नाम औषधि दिएर सर्वसाधरणलाई झुक्काएर नेटवर्क मार्फत भारतीयले नेपाली एजेन्टमार्फत सर्वसाधारणलाई ठगिरहेका छन् । नेटवर्किङ विजनेसलाई नेपाल सरकारले प्रतिवन्ध लगाएपनि सोझा सर्वसाधारणसँग गिरोहले रकम असुल गरिरहेको पाईएको छ ।