बर्दिया,भदौ २५ / मनोमानी तरिकाले गरिएको निर्णय विरुद्ध आन्दोलन गरिरहेका नगरवासीले तालाबन्दि गर्दा राजापुर नगरपालिकाले दिने सेवा दुई दिन देखि अबरुद्ध भएको छ भने आईतवार बेलुका निर्णय सच्चाउँने गरी आन्दोलकारी नगरपालिका विच सहमति भएको छ ।
अस्वभाविक रुपमा निर्धारण गरेको भूमि कर,विकास निर्माण गर्दा गरिएको बिभेदको अन्त्य गर्न पर्ने लगायतका नगरवासीको मागमा गरिएको वेवास्ताले राजापुर नगरपालिकामा गरिएको तालाबन्दीका कारण आईतवार पनि सेवा अबरुद्ध भएको छ । नगरपालिकाले अख्तियार गरेको भूमि करणको निर्णय अघिल्लो बर्षको तुलनामा दुई सय प्रतिशत बढि छ ।
नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीको नेतृत्वमा गरेको निर्णयको बिरुद्धमा जनप्रतिनिधि विपक्षमा देखिएका छन् भने आठ वटा दलले गरेको नेतृत्वमा नगरवासीले साथ दिएका थिए ।
माओवादीबाट चुनाव जितेका नगर प्रमुख थारुको पक्षमा प्रमुख प्रशासकिय अधिकृत शाही लेखा अधिकृत तथा सूचना अधिकारी बसन्त मल्ल बाहेकका कर्मचारी, माओवादीका वडा अध्यक्ष बाहेकका जनप्रतिनिधि नगरपालिकाको ज्यादतिको विरुद्धमा देखिएका थिए । नगरपालिकाले आफ्नो निर्णय सच्चाएर छलफल वा वार्ता मार्फत नगरवासीको आन्दोलन सम्बोधन गर्न आलटाल गर्दा नगरवासीको आक्रोष चुलिदै गएको हो ।
नगरवासी तालाबन्दिमा उत्रिदा शुक्रवार नगर प्रमुख दिपेश थारु र प्रमुख प्रशासकिय अधिकृत शाही प्रहरीको साहायता लिएर कार्यालय परिसरको गल्लीबाट भागे पनि नगरपालिकाका अन्य कर्मचारी दिनभरी सास्ती खेप्न परेको गुनासो गरे । ‘आफुहरुले जनतासँग कर असुल्न मनोमानी निर्णय गरेका छन्, एक कर्मचारी भने,‘हामी थुनियौ,उनीहरु भागे ।’ अघिल्लो बर्ष ११ कठ्ठाको २ सय २७ रुपैया तिरेको मालपोत यस वर्ष दश हजार तिर्न परेको दुखेसो सेवाग्राही रमा पौडेलले गरिन् ।
‘जुन जग्गाबाट बार्षिक त्यति आम्दानी हुदैन’उनले भने,‘हामी किसानले त्यत्रो राजश्व कसरी तिर्छौ,यो मेरो मात्र पिडा होईन,सम्पूर्ण नगरवासी यतिबेला पिडामा छन् ।’
राजापुर नगरपालिकाको मूख्य बजार क्षेत्र ६ नम्बर वडामा पर्छ भने कर्णाली नदीले घेरिएको ४ नम्बर वडा बजारसँग जोडिएको छ । नदी तटिय क्षेत्रलाई छोएको जग्गाको २० लाख मूल्याकंन गरिएको छ । बजारमा तीस लाख जग्गाको मूल्य गरिएपनि वेच बिखन शून्य छ । पक्की सडक छोएर लम्बाई लामो भएको जग्गाको २० लाखका दरले जोडेर कर असुल गरिरहेको पाईएको छ ।
नगरवासीको आन्दोलन जायज भएको पूर्व नगर प्रमुख शिव प्रसाद थारुले बताए । उनका अनुसार सम्पत्ति कर अबैधानिक र अस्वभाविक तरिकाले नगरपालिकाले बढाएको छ । ऐन वा कानुनमा स्थानीय सरकारले कर निर्धारण गर्न सक्ने भएपनि जग्गाको मूल्याकंन गर्ने बिभिन्न तरिका छन् जसले नगरवासीलाई मर्का पर्दैन, बर्गिकरण गरेर मूयाकंन गर्न सकिने उल्लेख गर्दै करको दायरा अस्वभाविक र सम्पत्तिको मूल्याकंन अस्वभाविक भएको पूर्व नगर प्रमुख थारुले बताए ।
यसअघिका प्रमुख प्रशासकिय अधिकृत दिल्ली भट्राईलाई पहुँचको भरमा ३४औं दिनमा सरुवा गरेर प्रमुख प्रशासकियय अधिकृत शाहीलाई असार मसान्त नगर प्रमुख थारुले सरुवा गराएर ल्याएका हुन् । अघिल्लो प्रमुख प्रशासकिय अधिकृत शिक्षक सरुवा र कर निर्धारण गर्दा ऐन टेकेर नगरवासी मूखी हुन् सुझाएपछि माओवादीको मन्त्रालय भएको बेलामा पटक पटक काठमाडौ पुगेर सरुवा गरिएको कर्मचारी स्रोतले दाबी गर्छ ।
आफु अनुकुल निर्णय गर्न नगर प्रमुख थारु, प्रमुख प्रशासकिय अधिकृत शाही र लेखा अधिकृत मल्लको मिलिमतोमा असार मसान्तमा करौडौको सामान खरिद गरेर भागवन्डा गरेको आरोप छ । कर निर्धारण गर्दा ऐन नियममा टेकेर निर्णय गरेको दाबी प्रमुख प्रशासकिय अधिकृत शाहीले गरे । ‘करको बिषयमा नगरवासी असन्तुष्ट हुनुहुन्छ’ उनले भने,‘छलफल र वार्ताका लागि बोलाएका छौ,अब निकास छिट्टै निस्कन्छ ।’ विकास निर्माणका काम पनि तदारुकता साथ अघि बढेको उनले बताए । स्रोत नागरिकन्युज