बर्दिया, भदौ २६ (फरकसमाचार) / हात्ती आतंकले सिमावर्ती क्षेत्रका किसानहरु आजित बनेका छन् । सिमावर्ती क्षेत्रका किसानले लगाएको अन्नबाली हात्तीले नष्ट गर्दा किसानहरु आजित बनेका हुन् । सिमावर्ती क्षेत्रका किसानले अन्नबाली लगाउँछन् तर काट्न पाउँदैनन् । बनजंगलबाट दिनहुँ निस्कने हात्तीले अन्नबाली सखाप बनाउँदा किसानहरु दुखी भएका छन् ।
गुलरिया नगरपालिका–१ र मधुवन नगरपालिका–९ धर्माबस्ती क्षेत्रका किसानहरु हात्ती आतंकले चिन्तित भएका छन् । गुलरिया नगरपालिका–१ क्षेत्रमा हात्तीले करिब १० बिघा धानबाली नष्ट गरेको कृष्ण प्रसाद भुसालले जानकारी दिएका छन् ।
त्यसैगरी मधुवन नगरपालिका–९ धर्माबस्ती बोर्डर लाईन क्षेत्रमा हात्तीले करिब १५ बिघा धानबाली नष्ट गरेको दिनेश पौडेलले बताए । ‘हात्तीले अन्नबाली नष्ट गर्ने समस्या पहिलो होइन’ पौडेलले भने,‘बन्यजन्तुले अन्नबाली नष्ट गर्ने प्रत्येक वर्षको समस्या हो ।’ गत वर्ष हात्तीले धानबाली नष्ट गर्दा कुनै क्षेतिपुर्ती नपाएको दुखेसो गरे । यस वर्ष मेरो १ बिघा र वरिपरि गरि १५ बिघा हात्तीले धानबाली नष्ट गरेको छ । नष्ट धानबालीको विवरण वडामा बुझाउने काम भईरहेको पौडेलले जनाए ।
भारतीय वनजंगलबाट निस्कने हात्तीले सिमावर्ती क्षेत्रका खेतबारीमा वर्षेनी व्यापक क्षति पु¥याउँदै आएको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । ‘पिडित किसानहरु यस वर्ष सम्पर्कमा आएका छैनन्’ सुचना अधिकारी शर्माले भने,‘सम्पर्कमा आएका पिडित किसानहरुलाई गत वर्ष राहत दिएको हो,किसानहरु प्रक्रिया पु¥याएर डिभिजन वन कार्यालयमा आए निर्देशिकाले तोके अनुसार राहत उपलब्ध गराउने छौं ।’
हात्तीले नष्ट गरेको अन्नबालीको अवस्थाको फोटो, प्रहरीको मुचुल्का, सम्बन्धित वडाको सिफारिस र नगरपालिकाको कृषि शाखाले मुल्याकंन गरेको क्षेति विवरणसहित किसानहरु राहतको लागि डिभिजन कार्यालयमा आए राहत उपलब्ध गराउने सुचना अधिकारी शर्माको भनाई छ ।