दाङ, भदौ २७ / बर्दियामा बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले प्रति परिवार एक/एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। मंगलबार बसेको लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्को बैठकले हालसालै बाघको आक्रमणमा परि मृत्यु भएका परिवारलाई एक/एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेका अनुसार बर्दियामा हालसालै बाघको आक्रमणमा परि मृत्यु भएका परिवारको संख्या भने यकिन गर्न बाँकी छ।
‘बाघको आक्रमणबाट हालसालै एक वा दुई जनाको मृत्यु भएको भन्ने छ,’ गृहमन्त्री पाण्डेले भने ‘संख्या यकिन हुन बाँकी छ, सङ्ख्या यकिन गरेर मृत्यु भएकाहरूको परिवारलाई प्रति परिवार एक/एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने मन्त्री परिषद्ले निर्णय गरेको छ।’
यसै गरी बर्दियामै केही दिन अघिको बाढीमा परि बेपत्ता भएकाहरूको परिवारलाई पनि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बर्दियामा दाउरा टिप्न गएका तीन जना केही दिन अघि बाढीमा परि बेपत्ता भएका थिए।मंगलबार बसेको मन्त्री परिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको कार्यालय स्थापना गर्ने निर्णय समेत गरेको छ। अहिले लोकसेवा आयोगको कार्यालय प्रदेश सरकार मातहत रहने निर्णय भएको छ।
सरकारले लोकसेवा आयोग कार्यालय सञ्चालनका लागि भवनको व्यवस्थापन गर्ने निर्णय गरेको हो। प्रदेशसभा सचिवालयमा रहेका अस्थायी कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरिएको सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए। यसै गरी सरकारले मंगलबार राती देखि प्रदेशसभाको वर्षे अधिवेशन अन्तय गर्ने निर्णय समेत गरेको छ।नागरिकन्युजबाट साभार