चितवनमा बाघ राख्न अभाव भएपछि बर्दिया पठाइयो
शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित

बर्दिया,भदौ २९/ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएको बाघ राख्ने ठाउँ नभएपछि बर्दियामा पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघ मध्ये एउटालाई बुधबार साँझ बर्दिया पठाइएको हो ।

चितवनबाट उद्दार गरिएको बाघ सकुशल बिहीबार बिहान बर्दिया आईपुगेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी आशिष न्यौपानेले बताए । ‘चितवनको टोलीले रेस्क्यु गरेर ल्याएको बाघलाई ठाकुरद्वारा मुख्यालयको रेस्क्यु सेन्टरमा राखिएको छ’ सुचना अधिकारी न्यौपानेले भने,‘ठाकुरद्वारा मुख्यालयको रेस्क्यु सेन्टरमा पहिला देखि एउटा बाघ थियो,अब दुई वटा भयो ।’ बर्दियामा चार वटा बाघ राख्ने ठाउँ थियो । जसमा एउटा ठाउँ खाली भएर चितवनबाट बाघ ल्याईएको हो । यस अघि बर्दियामा तीन वटा बाघ राखिएका थिए । रम्भापुर पोष्टमा दुई वटा र बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको मुख्यालयमा एउटा बाघ राखिएको थियो । अब बर्दियामा खोरमा राखिएका बाघको संख्या चार पुगेको सुचना अधिकारी न्यौपानेले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासीको अमलटारी क्षेत्रमा बस्तीमा बाघ आउन थालेपछि नियन्त्रणमा लिइएको हो । एउटा बच्चा बस्तीमा आएर बस्न थालेको थियो भने अर्को बाघले गाईभैँसी खान थालेपछि स्थानीयको आग्रहमा नियन्त्रणमा लिइएको हो ।

मङ्गलबार नियन्त्रणमा लिएर कसरा ल्याइएको थियो । अन्दाजी १० वर्षको भाले बाघलाई बुधबार साँझ बर्दिया पठाइएको उनले जानकारी दिए । यो बाघ केही समय यता बस्ती छिरेर घरपालुवा जनावर खाँदै आएको थियो । राख्ने ठाउँ नभएकै कारण बर्दिया पठाइएको हो ।
अर्को अन्दाजी सात महिनाको पोथी बाघलाई कसरामा रहेको काठको खोरमा राखिएको छ । कच्ची खोर भएकाले ठूलो बाघ राख्न खोर उपयुक्त छैन । सानो भएकाले तत्कालका लागि सो खोरमा राखिएको उनले जानकारी दिए ।

यो बाघ केही समय यतादेखि नवलपरासीको अमलटारीस्थित बस्ती क्षेत्रमा आएर बस्ने गरेको थियो । हाल कसरामा सानोसहित चार वटा बाघ रहेका छन् । तीमध्ये एउटा चार वर्षअघि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो भाले बाघ अन्दाजी १० वर्षको छ । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्षअघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीनवटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा खोरमा दुई वटा बाघ रहेका छन् । तीमध्ये एउटा गत साउनमा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त भाले बाघ अन्दाजी चार वर्षको हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तिवारीले अहिले चितवनमा छ वटा बाघ खोरमा रहेको बताए । निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आउने भए पनि ठाउँको अभाव भएको बताए । पछिल्लो समय भरतपुर भ्रमण वर्ष पारेर निकुञ्ज नजिकै देवनगरमा खुला खोर निर्माण गरी सर्वसाधारणले हेर्न मिल्ने गरी बाघ राख्ने तयारी गरिएको छ । तिवारीले सर्वसाधारणका लागि खुला गर्न सकेमा यस्ता बाघबाट आर्थिक उपार्जन गरी उनीहरुको पालनपोषण गर्न आर्थिक भार नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय