बर्दिया,असोज ९ (फरकसमाचार) / रु १६ लाख खर्च गरेर ४४औं विश्व पर्यटन दिवस ठाकुरद्वारामा मनाउने तयारी छ । पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको रु १२ लाख र ठाकुरबाबा नगरपालिकाको रु ४ लाख ४० हजार खर्च गरेर असोज १० गते विश्व पर्यटन दिवस मनाईने तयारी गरिएको सोमबार पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।
विश्व पर्यटन दिवस ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारा मन्दिर परिसरमा असोज १० गते ११ बजे मनाउने एक दिने कार्यक्रम तय गरिएको छ । विश्व पर्यटन दिवस मनाउने कार्यक्रमको व्यवस्थापन र प्रचार प्रसारलगायतका शिर्षकमा कति रकम खर्च गर्ने नखुलाएर एक मुष्टमा अनुमानित लागत सार्वजनिक गर्दा रकम हिनामिना हुन सक्ने आशंकासमेत गरिएको छ ।
जिल्लाको आठ वटै स्थानीय तहमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन हुने हिसावले ठाकुरद्वारामा विश्व पर्यटन दिवस कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक राम लम्सालले बताए । ‘बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले भरिपुर्ण मानिन्छ’ नगर प्रमुख लम्सालले भने,‘तर हामीले प्रशस्त मात्रामा प्रचार प्रसार गरेर चिनाउन सकेका छैनौं ।’ आन्तरिक र बाह्य पर्यटकलाई भित्राएर रोजगारका धेरै अवसर सिर्जना गर्न सक्छौं ।
पर्यटन प्रर्वद्धनको लागि पर्यटन दिवस मनाउन खोजेका हौं । यस कार्यक्रम मार्फत लुम्बिनी प्रदेशका पर्यटकिय सम्भावना बोकेका स्थानको बारेमा जानकारी गराउने तयारी छ । लुम्बिनी प्रदेशको १२ वटै जिल्लाका सम्पुर्ण पर्यटन गतिविधिसंग झल्किने झाँकी प्रस्तुत गर्ने कार्यक्रम रहेको नगर प्रमुख लम्सालले जनाए । बर्दिया राष्ट्रिय निकुञ्जलगायत यस क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले विश्व पर्यटन दिवस मनाउने छौं । स्थानीय कला संस्कृतीको संरक्षणसंगै यसको प्रर्वद्धन गर्न यस कार्यक्रममले सहयोग गर्ने नगर प्रमुख लम्सालले पत्रकार सम्मेलनमा भनाई राखे ।
‘पर्यटन र हरित लगानी’ नारासहित यस वर्ष लुम्बिनी प्रदेश स्तरीय विश्व पर्यटन दिवस ठाकुरद्वारामा मनाईदै ठाकुरबाबा नगरपालिकाकी उप–प्रमुख विना कुमारी भट्टराईले बताईन् । ‘पर्यटकिय हिसाबले हाम्रो जिल्लामा प्रचुर सम्भावना छ’ उप–प्रमुख भट्टराईले भनिन्,‘हामीसंग रहेको पर्यटकिय गतिविधिको बारेमा जबसम्म चिनाउन सक्दैनौं, तबसम्म पर्यटक भित्राउन सक्दैनौं ।’
पर्यटक भित्रियाउन नसकेको खण्डमा लगानी गरेर संचालन गरिएका व्यवसाय चल्दैनन्, रोजगारीका अवसर सिर्जना गर्न सक्दैनौं र बैदेशिक रोजगारमा पलायन भईरहेका युवाहरुलाई स्वदेशमा रोक्न सक्दैनौं । यस्ता समस्यालाई समाधान गर्न पर्यटन गतिविधिको प्रर्वद्धन गर्ने उदेश्यले पर्यटन दिवस मनाउने योजना रहेको उप–प्रमुख भट्टराईले दावी गरिन् ।
ठाकुरबाबा नगरपालिका र पर्यटन विकास परिषद्को आयोजनामा हुने कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, निर्वाचित संघिय सांसद र प्रदेश सांसदहरुको उपस्थिती रहने जनाईएको छ ।