चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने
मङ्गलबार, असोज ०९, २०८० मा प्रकाशित

काठमाडौं, असोज ९ / चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको क्रममा नेपालीलाई रेलवे सम्बन्धी तालिम दिन चीन तयार भएको हो । मंगलबार बिहान सार्वजनिक संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ । तर यस सम्बन्धमा विस्तृतमा खुलाइएको छैन ।

केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिमा दुवै पक्ष सन्तुष्ट रहेको र नेपाल-चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी चिनियाँ पक्षले लिजी-नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि आवश्यक सुधार गर्ने सहमति पनि भएको छ । नेपाल-चीन सीमा व्यापारका परम्परागत नाकाहरु पुनः चाँडै खोल्न चीन सहमत भएको छ । चेन्ताङ-किमाथाङ्का र रिबु-ओलाङचुङगोला बन्दरगाहलाई खुलाउन सम्वाद जारी राख्न दुवै पक्ष सहमत भएका छन् ।

नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्गको मर्मतसम्भार आयोजनाको चौथो चरणको काम गर्न र स्याफ्रुबेसी-रसुवागढी राजमार्ग मर्मतको काम चाँडै गर्न पनि चीन सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ ।

टोखा-छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन

यस्तै टोखा-छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीव्रता दिन पनि चीन सहमत भएको छ ।

नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोग सम्बन्धमा विगतमा हस्ताक्षर गरिएका सहयोग सम्बन्धी दस्तावेज कार्यान्वयनलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् ।

नेपाल र चीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सन्चालमा आएकोमा सन्तोष व्यक्त गरेका छन् । साथै आफ्ना एयरलाइन्सहरुलाई थप उडान गर्न र हवाई मार्गहरु खुलाउन दुवै पक्ष सहमत भएका छन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय