बर्दिया,असोज १५(फरकसमाचार) / चितुवाको आक्रमणबाट एक जना पुरुष घाईते भएका छन् । गुलरिया नगरपालिका–१ (१६ नंम्बर गाउँ)का ५५ वर्षिय अगन्दर जैशी कडेल चितुवाको आक्रमणबाट आइतबार घाईते भएका हुन् । भारतीय जंगलबाट निस्कने वन्यजन्तुले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
बिहान ७ बजे घर नजिकै बारीमा मकैको ढोड काट्न गएको बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले बताए । ‘चितुवाले आक्रमण गर्दा कडेलको देब्रे आँखा नजिक र छातीमा कातारिएको छ’ सुचना अधिकारी शर्माले भने,‘बर्दिया अस्पतालमा सामान्य उपचार गराई उहाँ घर फर्किनु भएको छ ।’
‘चितुवाले आक्रमण गरेको स्थानमा मरेको बिरालो फेला परेको छ’ सुचना अधिकारी शर्माले भने,‘चितुवाले बिरालोको शिकार गरि खाईरहेको अवस्थामा कडेल अगाडि पर्दा आक्रमण गरेको हुन सक्ने आँकलन छ ।’ आक्रमण गरेको चितुवाको मुभमेन्ट हेर्न डिभिजन वन कार्यालयले आइतबार त्यस स्थानमा दुई वटा क्यामरा जडान गरेको छ । यदि जडान गरिएको क्यामरामा चितुवाको मुभमेन्ट देखियो भने चितुवालाई नियन्त्रणमा लिने डिभिजन वन कार्यालयका सुचना अधिकारी शर्माले जानकारी दिए ।