बर्दिया,असोज १८(फरकसमाचार)/ कुलराज दहित र चितुवाको मंगलबार राति सवा नौ बजे जम्का भेट भयो । गुलरिया नगरपालिका–७ सर्जुनदीमा अवस्थित फलामे पुलमा जम्का भेट भएको दहितले सुनाए । दहित बिग्रुपमा काम गर्छन् । चितुवा सर्जुनदी पारीबाट वारी बजारतर्फको बस्तीमा आउँन फलामे पुलको बाटो घर फर्कदै गर्दा देखेको चितुवाले झन्डै झम्टेन ।
गुलरिया नगरपालिका–८ सर्जुनदी टपरा बस्तीमा घर भएका कुलराज दहित त्यहि बाटो हुँदै सधैं झै कामकाज सकाएर घर फर्किदै थिए । चारैतिर बस्ती छ । रात पनि खासै छिपिएको थिएन । सधैं हिड्ने बाटो । मुर्तिहा जंगल पनि करिब दुई किलोमिटर टाढा रहेको पुलमा चितुवा देखिएको दृश्य दहितको अझै मानसपटलमा दोहारिरहेको छ । सधैं हिड्ने बाटोमा जंगली जनावर चितुवा भेटिएला भन्ने उनको कल्पनामा थिएन ।
मोटरसाइकलमा सवार दहित सधैं झै ढुक्क भएर घर फर्किदै थिए । कुकुर होला भनेर मोटरसाइकलमा सवार दहित चितुवाको नजिकै पुगे, चितुवासँग नडराएकोले आक्रमणमा नपरेको उनको बुझाई छ ।
‘मलाई देखेर चितुवा फलामे पुलमा थुचुक्क बस्यो’ दहितले भने,‘मोटरसाइकलको एक्सीलेटर बेस्सरी बर्टादाँ ग्वाई ग्वाईको आवाजले चितुवा पुलबाट फक्र्यो ।’ चितुवा फर्किदाँ ठुलो पुच्छर र पेट देखे । यस अगाडि अन्तै चितुवा प्रत्यक्ष देखेको थिए जसले गर्दा सजिलै चिनिहाले । कल्पना नगरेको ठाउँमा चितुवा देख्दा झस्किए । पछाडिबाट मोटरसाईकलको लाईट चितुवाको शरिरमा परेछ । एक्सीलेटर बटारेर मोटरसाइकल ग्वाई ग्वाई गराउँदा बल्लतल्ल पुलबाट फर्किएर चितुवा बिस्तारै पश्चिम तर्फ भाग्यो । अनि मोटरसाइकल दौडाएर घर तर्फ गएको दहितले सुनाए ।
विगत एक वर्ष देखि सर्जुनदी टपरा बस्तीमा चितुवाले गाई, बाख्रा र कुकुरलाई शिकार बनाएको जानकारी थियो । तर पत्याएको थिएन । आज आमने सामने पर्दा पनि बल्लबल्ल बाँचे । ‘म मोटरसाइकलमा थिए,जसले गर्दा बाँच्न सहज भयो’दहितले भने,‘यदि म पैदल भएको भए चितुवाले फलामे पुलमै म माथि सहिजै आक्रमण गर्न सक्थ्र्यो ।’ यो घटनाले डराउन बाध्य बनाएको छ । यतिबेला वन्यजन्तु बस्ती पस्न थालेका छन् । बस्तीमा पनि वन्यजन्तुको आक्रमणबाट सुरक्षित छौं भन्ने स्थिती छैन । यस क्षेत्रका स्थानीयलाई पनि रातबिरात नहिड्न दहितले आग्रहसमेत गरे ।
मंगलबार राती चितुवाले गुलरिया नगरपालिका–७ चौगुर्जी गाउँमा घनश्याम यादवको गोठमा रहेको गाई मारेर आँधा भाग खाएको छ । गुलरिया नगरपालिका–८ सुरजपुर, सर्जुनदी टपरा बस्ती, वडा नंम्बर ७ का गाउँमा विगत एक वर्ष देखि चितुवा निरन्तर पशुचौपायालाई शिकार बनाई रहेको छ ।