काठमाडौँ, असोज १९ / सांसद डा.स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको विद्यालय शिक्षा विधेयक जिम्मेवार ढंगले पेश नभएको बताएका छन् । प्रतिनिधिसभामा शुक्रबार विद्यालय शिक्षा विधेयक–२०८० विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै सांसद वाग्लेले यो विधेयकमा स्रोतको सुनिश्चितता नै नभएको भन्दै विद्यालय शिक्षा विधेयक जनतामा लैजानुपर्ने बताएका हुन् ।
उनले प्रतिनिधि सभा नियमावलीमा उल्लेख भए अनुसार जनताको प्रतिक्रिया प्राप्त गर्न प्रचार गरियोस् भन्ने प्रावधानलाई कार्यान्वयन गर्न विधेयक जनतामा लैजानुपर्ने बताए । सांसद वाग्लेले केहि हप्तासम्म कुनै एक जना उपसचिवको गोप्य घर्रामा थन्क्याएर राखिएको विधेयक पर्याप्त छलफलमा नगएको बताए ।
सांसद वाग्लेले विधेयकमा सरकारबाट रकम उपलब्ध गराउनुपर्ने भएकोले यसबाट प्रत्येक वर्ष सरकारलाई आर्थिक दायित्व पर्न जाने भन्ने कुरा उल्लेख भएपनि विधेयकमा बजेटको कति प्रतिशत रकम खर्च हुँदैछ भन्ने मोटामोटी अनुमान पेश हुनुपर्ने बताए । उनले संविधानको मूल मर्मलाई नमिचिकन सार्वजनिक शिक्षाको व्यवस्थापनमा राज्य जिम्मेवार हुनुपर्ने बताए । सांसद वाग्लेले शैक्षिक केन्द्रहरुको पुनःसंरचना, पाठ्यक्रमको खाका, शिक्षकहरुको जायज समस्यालाई निराकरण, परीक्षा, अभिभावक र समुदायको संलग्नता, तालिम, प्रशिक्षणलाई विधेयकले समेट्नुपर्ने बताए । रातोपाटीबाट साभार