बर्दिया,असोज २१(फरकसमाचार) / चितुवाको आक्रमणबाट एक बालक गम्भिर घाईते भएका छन् । बारबर्दिया नगरपालिका–३ खुरखुरे फाँटाका ४ वर्षिय साहिल सुनार शुक्रबार साँझ घाईते भएका हुन् ।
चितुवाको आक्रमणबाट सुनारको गाला र छातीमा चोट लागेको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए ।
शुक्रबार साँझ करिब साढे छ बजेको समयमा घर नजिकै चितुवाले बालकलाई आक्रमण गरेको बारबर्दिया नगरपालिका–३ का वडा अध्यक्ष नन्दलाल थारुले बताए । ‘नेपालगंज स्थित नर्सिङहोममा घाईते बालकको उपचार भईरहेको छ’अध्यक्ष थारुले भने,‘बालकको स्थिती बुझ्न शनिबार नर्सिङहोममा पुगे, बालक होसमा छ ।’ चितुवाले आक्रमण गरेर चोट लागेको ठाउँ बंङगाराको अप्रेशन सफलता पुर्वक भईसकेको छ । डाक्टरको भनाई अनुसार बालक अहिले खतरामुक्त रहेको अध्यक्ष थारुले जनाए ।
मामाको घरबाट आफ्नो घर जानेक्रममा धारा नजिक चितुवाले बालकलाई झम्टेको हो । स्थानीयले देखेपछि हल्ला गर्दा चितुवा बालकलाई छोडेर भागेको स्थानीयले जनाएका थिए ।
गत आइतबार गुलरिया नगरपालिका–१ (१६ नंम्बर गाउँ)का ५५ वर्षिय अगन्दर जैशी कडेल चतुवाको आक्रमणबाट घाईते भएका थिए । गुलरिया नगरपालिका–७ र ८ का बस्तीमा निरन्तर पशुचौपाया लाई चितुवाले शिकार बनाईरहेको छ । त्यसैगरी गत मंगलबार राति सवा नौ गुलरिया नगरपालिका–७ सर्जुनदीमा अवस्थित फलामे पुलमा चितुवा देखेको कुलराज दहितले जनाएका थिए । पछिल्लो समयमा चितुवाले जताततै आक्रमण गर्न र जताततै देखिन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।