बर्दिया,असोज २२(फरकसमाचार)/ नजिकिदै गरेको विजया दशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गरि ट्राफिक प्रहरीले जिल्लाको पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
गुलरिया नगरपालिका–७ स्थित बसपार्क, राजापुर नगरपालिका–४ राजापुर वसपार्क, ठाकुरबाबा नगरपालिका–१ भरीगाउँ बजार र बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा ट्राफिक प्रहरीले आइतबार यात्रु सहायता कक्षको स्थापना गरिएको हो । यात्राको क्रममा कुनै पनि किसिमको समस्या हुँदा सहायता कक्षमा खटिएका प्रहरीलाई यात्रुहरुले सजिलै आफ्नो समस्या बताउन सक्छन् ।
चाडपर्वको बेला सार्वजनिक सवारीसाधनहरुमा भिडभाड बढी हुन्छ । गाडीको क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने बढी सम्भावना पनि हुन्छ । त्यसैगरी मौकाको फाइदा उठाएर यात्रुसंग बढी भाडा आसुल्ने र गाडीमा छुटेको सामान यात्रुले नपाउने जस्ता घटना हुन सक्छ ।
यस्ता समस्यालाई मध्यनजर गरि सवारीसाधनमा हुने भिडभाड व्यवस्थापन,यात्रु तथा सवारी धनिलाई परेको समस्यामा सघाउने उदेश्यले ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरियाका प्रहरी हवल्दार कृष्णा डाँगीले बताए ।
‘यात्रा गर्ने क्रममा झंझट परेमा, बसपार्कमा हुन सक्ने झैझगडा, भाडाको विषयमा हुने वादविवाद र सामान छुट्ने जस्ता घटना हुन सक्छ’ प्रहरी हवल्दार डाँगीले भने,‘यस्ता किसिमका घटना हुन नदिन र भईहालेमा सोही स्थानमा प्रहरीले सहजै सुल्झाउन सक्ने गरि यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।’