बर्दिया,कातिक १ (फरकसमाचार) / गुलरिया नगरपालिका–३ खैरीकी पार्वती थारु फूल खेती गरेकी छन् । अघिल्लो वर्ष देखि थारुको फूल खेतीतर्फ मोह बढ्दै गएको छ । सुदुरपश्चिम विश्व विद्यालयमा एग्रिकल्चरबाट ब्याचेलर फिफ्थ सेमिस्टरमा थारु अध्ययनरत छिन् । एग्रिकल्चरकी विद्यार्थी थारु फूल खेतीतर्फ आकर्षित भएकी छन् ।
अध्ययनसंगसंगै व्यवसायीक रुपमा फूल खेती गर्ने दृढ विश्वासकासाथ उनी अघि बढेकी छन् । गत वर्ष चार कठ्ठामा फूल खेती गरेकी थारुले यस वर्ष फूल खेतीको क्षेत्रफल विस्तार गरेकी छिन् ।
‘दशैं र दिपावली पर्वलाई लक्षित गरि फूल तयारी अवस्थामा छ’ थारुले भनिन्,‘एक बिघामा ढकमक्क सयपत्री फूल फुलेको छ ।’ ‘अहिले नवरात्र सुरु भईसकेको छ’थारुले भनिन्,‘कसैलाई फूल वा फूलको माला चाहिएमा हामीले तुरुन्तै उपलब्ध गराउन सक्छौं ।’
हाम्रो ठाउँमा फूल खेती तर्फ किसानको खासै चासो छैन । स्वदेशी उत्पादनले धान्न नसक्दा प्रत्येक वर्ष तिहारमा विदेशबाट फूलको माला आयात हुने गर्छ । स्वदेशमा फूलको माग बढेपनि फूल उत्पादन न्युन रहेको छ । स्वदेशमा फूलको उत्पादन बढाउन स्थानीय सरकारले किसानलाई सहजीकरण गरि फूल खेतीतर्फ आकर्षित गर्नुपर्छ । अनि मात्र फूल आयात हुने दर घटाउन सकिने थारुले सुनाईन् ।
‘स्वदेशी स्थानीय उत्पादनलाई प्रयोग गरौँ, पुष्प खेतीलाई प्रोत्साहन गरौँ’भन्ने भनाईका साथ थारु फूल खेती अंगालेकी छन् । फूल खेती गर्ने किसानलाई धेरै चुनौतीको सामना गर्नुपर्ने बाध्यता छ । फूल खेती गर्ने किसानलाई बिउको धेरै समस्या छ । विभिन्न प्रजातिका फूलको बिउ आफ्नै ठाउँमा सहजै पाउन सके फूल खेती तर्फ किसानको आकर्षण बढ्ने उनले जनाईन् ।