बर्दिया,कात्तिक २(फरकसमाचार)/ ठाकुरबाबा नगरपालिका–४ का झवारी थारुको परिवार यतिबेला दुखी छ । गाउँमा उल्लास देखिन्छ थारुको घरमा घर खर्चको जोहो छैन । ठाकुरबबा नगरपालिकाको लापरबाहीले एक तर्फ पैसा गुमेको छ, अर्को तर्फ जनप्रतिनिधि र कर्मचारीले दिएको सास्ती सम्झदा झन् दुखी भएको उनी बताउँछन् ।
जग्गाको करमा नगरपालिकाले बढि राजश्व असुल गरेको छ । उनीसँग तीन हजार बढि रकम फिर्ता गरिदिन नगरपालिका र वडामा समस्या लिएर जाँदा खप्की खाएको झवारीले बताए । सिस्टम गडबडिले बढि राजश्व असुल भएको सचिव मिना तिमिल्सेनाले बताउँछिन् । उनका अनुसार नगरपालिकाले रसिदमा राजश्व समायोजन गरेर वडा कार्यालय पठाएको छ ।
पटक पटक नगरपालिका जाँदा पनि बढि राजश्व उठाएको रकम फिर्ता नपाएको थारुले बताए । ‘म नगरपालिका र वडा कार्यालय जाँदा जाँदा थाकिसके,’पिडित थारुले भने,‘हामी गरिबको मर्का कसलै सुन्दैन ।’अरुको लागी तीन हजार थोरै रकम होला, नगरपालिकाले रकम फिर्ता नदिँदा दसैं बिग्रिएको उनले दुखेसो गरे ।
तर, नगर प्रमुख तिलकराम लम्सालले सिस्टम गडबडि नरहेको दाबी गर्छन् । ‘समाचार बुझेर सोध्नुस,’लम्सालले भने,‘जे पाई त्यै नलेख्नुस् ।’ नगरपालिकाले असुल गरेको बढि राजश्व फिर्ता भयो कि भएन भन्ने जिज्ञासामा जसले भनेको उसैलाई गएर सोध्न भन्दै नगर प्रमुख लम्सालले आक्रोष व्यक्त गरे ।
ठाकुरबाबा नगरपालिका–४ का झवारी थारुले माटोको जोड रहेको ३ सय ३६ वर्गफिट क्षेत्रफलको भौतिक संरचनाको जम्मा रु ३ हजार ६ सय ६४ दशमलव ८५ बुझाएको पाईएको छ । नगरपालिकाले तीन हजार बढि उनीसँग राजश्व लिएको खुलेको छ । समान क्षेत्रफलमा आईवारी थारुले माटोको जोड रहेको ३ सय ३६ वर्गफिट र सिमेन्टको जोड रहेको ५ सय १३ वर्गफिट क्षेत्रफलको भौतिक संरचना विवरणको जम्मा रु ६ सय १९ दशमलव ६ मात्र तिरेका छन् ।
त्यसैगरी पटवारी थारुले माटोको जोड रहेको १ हजार २४ वर्गफिट क्षेत्रफल रहेको भौतिक संरचनाको जम्मा रु ६ सय ९९ दशमलव ३६ तिरेको सम्पत्ति÷मालपोत रेकर्डमा देखिन्छ । समान क्षेत्रफलको जग्गामा पिडितले पाएका तीन वटा रसिदमा फरक फरक राजश्व नगरपालिकाले लिएको फेला परेको हो ।
वडा कार्यालयले यसरी व्यक्तिसँग विभेद गर्दा स्थानीय चिन्तित भएका छन् । पावर र पहँुचमा रहेका व्यक्तिहरुलाई वडा कार्यालले राजश्वमा विषेश छुट दिईरहेको जनप्रतिनिधिलाई आरोप छ । बढि राजश्व असुल भएको सचिव मिना तिमिल्सेनाले बताईन् । ‘हाम्रो गल्ती होईन, राजश्व शाखाको सिस्टमको गल्ती हो’उनले भनिन् ।