बर्दिया,कात्तिक १४(फरकसमाचार) / प्रहरी प्रशासनको सास्ती व्यहोरिरहेका किसानलाई पहिचानको लागि परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । गुलरिया नगरपालिकाले कार्यविधि बनाएर ७ वटा वडाका किसानलाई अस्थायी किसान परिचय पत्र वितरण गर्न सुरु गरेको हो । नगरपालिकाले भारतीय सिमानासंग जोडिएका ७ वटा वडाका किसानलाई परिचय पत्र वितरण सुरु भएको छ ।
परिचय पत्र नहुँदा आफ्नै खेतबारीमा उब्जाएको अन्नबाली विक्री गर्न बजार लैजादाँ भन्सारमा खटिएका सुरक्षाकर्मीले दुःख दिने गरेको कृषकहरुको गुनासो रहेको थियो । त्यहि गुनासोलाई मध्यनजर गरि गुलरिया नगरपालिकाले किसानहरुलाई परिचय पत्र वितरण गर्न थालेको छ ।
परिचय पत्र नहुँदा आफ्नै खेतमा उब्जाएको तरकारी बजारमा लैजान वडा कार्यालयबाट सिफारिस बनाएर लगेपछि मात्र प्रहरीले लैजान दिन्थे । शनिबार हाटबजार तरकारी बिक्री गर्न लैजाँदा वडा अध्यक्षहरु नभेटिने त कहिले के हुने गर्दा किसान मर्का परेका थिए । अब त्यो समस्या समाधान हुने किसानहले विश्वास लिएका छन् ।
वडा नंम्बर १,३,७,८,९,१० र ११ मा अस्थायी किसान परिचय पत्र वितरण गर्ने कार्यक्रम सुरु गरेको गुलरिया नगरपालिका कृषि शाखाका प्रमुख महादेव शाहले बताए । ‘पाँच हजार किसान कार्ड छापाएर सम्बन्धित वडाहरुमा पठाएका छौं’शाखा प्रमुख शाहले भने,‘प्रक्रिया पु¥याएर वडाले किसान कार्ड वितरण गर्नेछ ।’ वडाहरुले कति कार्ड वितरण गरेको कृषि शाखामा अपडेट नआएको शाहले जनाए ।
आइतबार देखि किसान परिचयपत्र वितरण गर्न सुरु गरेको गुलरिया नगरपालिका–९का वडा अध्यक्ष हरि प्रसाद पासवानले बताए । ‘यस कार्डले प्रहरी प्रशासनले अनावश्यक रुपमा किसानलाई परेसान गर्न पाउँदैनन्’अध्यक्ष पासवानले भने,‘त्यसैगरी परिचयपत्र दिदाँ किसानहरुको कति जग्गाको विवरण लिने गरेका छौं ।’
यस विवरणले आगामी दिनमा किसानहरुको लागि कार्यक्रम ल्याउँदा सघाँउने उनले जनाए । वडा नंम्बर ९ मा करिब १ हजार ६ सय किसान छन् वडाले सबै किसानलाई किसान परिचयपत्र उपलब्ध गराउने योजना रहेको अध्यक्ष पासवानले जानकारी दिए ।