बर्दिया,कात्तिक १५ (फरकसमाचार) / मंगलवार गुलरिया स्थित मालपोत कार्यालयको कार्य कक्षबाट निस्किदै गरेका एक कर्मचारी भन्दै थिए,‘ पत्रकार,नागरिक समाज र प्रशासन कता हराएको छ ।’ अफ मुडमा रहेर सेवाग्राहीले सास्ती पाएका बिषयमा फरक मत राख्ने ति कर्मचारी नियमन निकायले सेवाग्राहीले सास्ती पाउँदा मुख दर्शक बनेको उनको भनाइमा भाव झल्किन्थ्यो ।
फरक समाचार संबाददाता मालपोत कार्यालयमा सेवाग्राही विचल्लि परेको खबर संकलन गर्न जाँदा अन्य कर्मचारी टिकटक र फेसबुकमा झुलिरहेका देखिए भने मंगलवार सेवा लिन मालपोत पुगेको सेवाग्राही फर्किरहे । बिषय खोतल्दा अफिस आवरमा बिद्युत लाईन अबरुद्ध भएको सूचना प्राप्त भयो ।
त्यहि बहानामा टाढाटाढाबाट सेवा लिन मालपोत पुगेका सर्वसाधारण निराश भएर घर फर्के सरकारले खटाएका कर्मचारी टिकटक चलाएर दिन बिताए । त्यहाँ उपस्थित सेवाग्राहीलाई सोधपुछ गर्दा समाचारमा नाम नराख्न उल्लेख गर्दै भने,‘हामीलाई भन्यो भने हाम्रो काम हुदैन ।’ बिहान १० बजेबाट लाईन छैन भनेर कर्मचारी मोबाईलमा व्यस्त रहेको भुरिगाउँबाट मालपोत कार्यालयमा सेवा लिन आएका सेवाग्राहीले प्रतिक्रिया दिए ।
मालपोत कार्यालयमा इन्भेटर रहेको खरिदार महेन्द्र खड्काले बताए । ‘हाम्रो कार्यकक्षमा इन्भेटर छ’ खरिदार खड्काले भने,‘तलका अधिकांश कोठामा इन्भेटर छ तर बिग्रिएका छन् ।’ जसले गर्दा कामकाज ठप्प रहेको जनाए ।
मालपोत कार्यालयमा व्याकपको लागि इन्भेटर र जेनेरेटर छ । तर मर्मत सम्भार नहुँदा जीर्ण रहेको छ । लाईन गयो भने कामकाज नै ठप्प हुने अवस्था छ ।
मंगलबार लाईन नहुँदा ब्याकप भएको दुई वटा कम्प्युटरबाट सके जति सेवा प्रर्वाह गरेको मालपोत कार्यालयका निमित्त प्रमुख नरेश तिवारीले बताए । ‘करिब ११ बजे लाईन गएर सेवा अवरुद्ध भयो’ निमित्त प्रमुख तिवारीले भने,‘विद्युत कार्यालयमा सम्पर्क गर्दा रुख काटिरहेको जानकारी पाएँ,लाईन नभएर सेवा अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको छु ।’ दुई वटा कम्प्युटरले भ्याए जति काम भईरहेको छ । कतिबेला ब्याकप सकिने निश्चित नरहेको सुनाए । मालपोतमा रहेको इन्भेटर व्याट्रीको मर्मत गर्दा पनि काम नगरेको जनाए । कार्यालय व्यवस्थापनको जिम्मा कार्यालय प्रमुख मदन घिमिरे र लेखा प्रमुखको हो ।
एक दुई दिन कामचलाउँको लागि मात्र निमित्त प्रमुखको जिम्मेवारी सम्हालेको तिवारीले जानकारी दिए । कार्यालयमा रहेको जेनेरेटर पहिलाबाट बिग्रेर काम गरेको छैन । ‘कार्यालयमा रहेको जेनेरेटरको अवस्था बारे कार्यालय प्रमुखलाई जानकारी गराईसकेको छु’ निमित्त प्रमखु तिवारीले भने,‘नयाँ कार्यालय प्रमुख आउनु भएको छ, अहिले बिदामा हुनुहुन्छ ।’ कार्यालय प्रमखु आएपछि उहाँसंगै थप कुरा बुझ्ने जनाए ।
जिल्ला प्रहरी कार्यालय नजिक विरुवा काट्दा लाईन अबरुद्ध भएको विद्युत प्राधिकरण गुलरियाका प्रमुख नारायण अर्यालले बताए । ‘जिल्ला भरिको लाईन गएको होइन’ प्रमुख अर्यालले भने,‘१० नंम्बर ट्रान्सफर्मरको लाईन मात्र काटिएको हो ।’