एक घण्टाको लागि सरुना चौधरी बनिन् मधुवनको नगर प्रमुख
बिहिबार, कार्तिक १६, २०८० मा प्रकाशित

बर्दिया,कार्तिक १६(फरकसमाचार)/ बुधबार एक घण्टाको लागि सरुना चौधरी मधुवन नगरपालिकाकी नगर प्रमुख बनिन् । मधुवन नगरपालिका–३ धनौरा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत चौधरीले एक घण्टा नगर प्रमुखको जिम्मेवारी सम्हालिन् । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले आफ्नो पदभार एक घण्टाको लागि विद्यार्थी चौधरीलाई हस्तान्तरण गरेका थिए । पदभार ग्रहण गरेकी चौधरीले नगर प्रमुख भाटसंग आफुले गर्ने कार्य तथा जिम्मेवारीबारे जानकारी लिईन ।

एक घण्टाको लागि नगर प्रमुख भएकी चौधरीले नगरपालिका मार्फत भईरहेका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित शाखाहरुलाई निर्देशनसमेत दिन भ्याईन् । एक घण्टाको लागि नगर प्रमुखको जिम्मेवारीमा रहेकी चौधरीले शिक्षा शाखाका प्रमुख नारायण प्रसाद खनाल, स्वास्थ्य शाखाकी प्रमुख गिता घिमिरे र महिला तथा बालबालिका शाखाका प्रमुखलाई निर्देशन दिईन् । नगर प्रमुख चौधरीको निर्देशनलाई सम्बन्धित शाखाका प्रमुखहरुले कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाए ।

बालविवाह उच्च रहेको मधुवन नगरपालिकाका नगर प्रमुख भाटले बताए । ‘बालविवाहले व्यक्तित्व, सिप तथा जिवन जिउने कला सिक्न बाधा गरिरहेको छ’ नगर प्रमुख भाटले भने, ‘बालविवाह नगर्ने, नगराउने भुमिका खेल्न, बालबालिकाहरु दुव्र्यसन र लागुऔषध सेवन नगर्न सचेतना फैलाउने प्रमुख भूमिका बालबालिकाले खेल्नु पर्छ ।’

किशोरीहरुको नेतृत्व क्षमता विकास र उनीहरुको जीवनको वृहत लक्ष्य निर्धारण गर्न उत्प्रेरित गर्ने उद्धेश्यकासाथ मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा बीग्रुप र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा बालविवाह न्यूनिकरण परियोजना सञ्चालित रहेको परियोजनाका प्राविधिक संयोजक कुलराज दहितले बताए ।

बालबालिकाहरूलाई शशक्तिकरण गराउने, बालिकाहरुको गुणस्तरीय शिक्षामा बालबालिकाको भुमिका निर्वाह गरि सहजिकरण गर्ने, रोजगारमा संलग्नता गराउन र बालबालिकाको प्रजनन् स्वास्थ्य अधिकार उद्देश्यकासाथ गठन गरिएको ‘परिवर्तनका सम्भाहकहरु’ मार्फत विभिन्न कार्यहरु भईरहेको संयोजक दहितले जानकारी दिए ।

कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत मान बहादुर गिरीलगायत शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय