बर्दिया,कात्तिक १७ (फरकसमाचार) / बर्दिया राष्ट्रिय निकुञ्जमा पालिकाएका हात्तीहरुको स्वास्थ्य परिक्षण गर्न शिविर खटिएको छ । निकुञ्जमा रहेका १३ वटा हात्तीहरुको स्वास्थ्य परिक्षण र उपचार गर्न दुई दिने शिविर खटिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा हात्तीहरुको स्वास्थ्य परिक्षणको लागि शिविर आयोजना गरिएको छ । बिहीबार सुरु भएको शिविर शुक्रबारसम्म चल्ने जनाईएको छ ।
निकुञ्जमा पालिएका हात्तीहरुको स्वास्थ्य परिक्षण र उपचारको लागि प्रत्येक वर्ष शिविर संचालन हुने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले बताए ।
स्वास्थ्य शिविरमा हात्तिको नङ काट्ने, रगत जाँच गर्ने र जुकाको औषधि खुवाउने लगायत अन्य चेक जाँचका हुने र रेविज र टिटानस विरुद्धको खोप लगाउने चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा.विजय कुमार श्रेष्ठले बताए । एउटा हात्तीको परिक्षण गर्न एक घण्टा समय लाग्ने र चिकित्सकसहित दुई जना प्राविधिकि लाग्ने वरिष्ठ पशुचिकित्सक डा. श्रेष्ठले जानकारी दिए ।