बर्दिया,कात्तिक २१ (फरकसमाचार) / भुकम्प प्रभावित समुदायलाई गुलरिया नगरपालिकाले खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । भुकम्प प्रभावित समुदायको लागि रु दश लाख बराबरको खाद्य सामाग्री दिने सोमबार निर्णय गरेको हो । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भुकम्पले ठुलो धनजनको क्षति पु¥याएको छ ।
सोमबार बसेको कार्यपालिकाको बैठकले भुकम्प पिडितलाई तत्काल राहत स्वरुप खाद्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको गुलरिया नगरपालिकाका प्रवक्ता सुधांशु प्रकाश शर्माले बताए । ‘नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट व्यहोर्ने गरि रु दश लाख बराबरको खाद्यान्न सामाग्री दिने कार्यपालिकाको बैठकले निर्णय गरेको छ’,प्रवक्ता शर्माले भने,‘भुकम्प प्रभावित क्षेत्रमा बास्केट फन्ड बनेको छ, त्यस फन्डसंग समन्वय गरि आवश्यकता अनुसार खाद्य सामाग्री दिने योजना छ ।’
त्यसैगरी भुकम्प पिडितहरुको सहयोगार्थ निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन बर्दियाको अगुवाईमा कृयाशिल टे«ड युनियनको समन्वयमा राहत संकलन सुरु गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष द्रोणराज शर्माले बताए । सोमबार एक दिनमा ४२ हजार २ सय १ संकलन भएको अध्यक्ष शर्माले जानकारी दिए ।
भुकम्प प्रभावित परिवारलाई राहत प्रदान गर्दा जिल्ला स्थित स्थानीय तह र अन्य संघ संस्थाले प्रशासन कार्यालयमा जानकारी गराउन आइतबार जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले बताए । ‘तोकिएको छैन, स्थानीय तहले सक्दो सहयोग गर्छन् होला’ सहायक प्रजिअ अर्यालले भने,‘प्रभावित क्षेत्रलाई हस्तान्तरण गर्न लैजाँदा प्रशासनमा जानकारी आउँछ ।’