धनगढी,कात्तिक २१ / चौबिसै घण्टा प्रहरीको सुरक्षा पहरामा रहने कैलाली जिल्ला अदालत धनगढीबाट पेस्तोल, गोली र मोबाइल चोरी भएको छ। मुद्दा फाँटमा मुद्दाका मिसिलसँग राखिएको लागु औषध र हातहतियार खर-खजना मुद्दाका अभियुक्तकाे मोबाइल र अभियुक्तबाट समातिएको पेस्तोल र गोली चोरी भएको हो।
सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीको जिल्ला प्रहरी कार्यालय नजिकै चौबिसै घण्टा सुरक्षा पहरामा रहेको अदालतबाट आइतबार राती नाटकीय रुपमा चोरी भएको हो। अदालतबाट एक थान कटुवा पेस्तोल, ४ वटा गोली र ५ वटा मोबाइल चोरी भएको अदालतका एक कर्मचारीले बताए।
प्रहरीले भने पेस्तोल चोरी भएको कुरा खुलाएको छैन। कैलालीका प्रहरी उपरीक्षक देवेन्द्र सिंह पालले आइतबार राती साढे १० बजेतिर अदालतमा प्रवेश गरेर मोबाइल चोरी भएको बताए। अदालतमा चोरी गरेपछि पशुपति टोलकाे अर्को घरमा पनि चोरी गर्न खोज्दा होहल्ला भएपछि भाग्ने क्रममा चोरी भएका ४ थान मोबाइल सडकमा खसेको थियाे। उक्त मोबाइल सेट प्रहरीले फेला पारेको उपरीक्षक सिंहले बताए।
सिसी क्यामेरामा स्पष्ट नदेखिएकाले अहिलेसम्म चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको उनले जनाए। पेस्तोल चोरी भएको भन्नेबारे आफूलाई जानकारी नभएको उनको भनाई थियो।
यसरी भएको थियो चोरी
चोरी गर्ने व्यक्ती अदालतको बाहिरी परिसरको मात्र नभई अदालतको भित्री परिसरबारे पनि पुरै जानकार भएको बुझिएको छ। राती साढे १० बजे दक्षिणतर्फ रहेको अभिलेख शाखाको झ्यालको ग्रिल तोडेर साे व्यक्ती अदालत भित्र प्रवेश गरेका थिए। झ्यालबाट भित्र प्रवेश गरेपछि सिसाका ढोका फोडेर अरू कोठामा गएको अदालतका एक कर्मचारी बताउँछन्।
‘भित्र सिसाका ढोका छन्, सिसाको ढोका फोडेर एक कोठाबाट अर्को कोठामा गएको देखिन्छ’ उनले भने, ‘श्रेस्तेदारको कोठामा गएर चाबी निकालेर मुद्दा फाँटमा राखिएका पेस्तोल, गोली र मोबाइल झिकेर लगेको छ।’ अदालत भित्र चाबी कहाँ राखिएको छ, कुन मिसिल, कुन समान कहाँ राखिएको छ भनेर सबै जानकार भएकाे व्यक्तिले नै चोरी गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ। मुद्दाको मिसिल चोरी भए नभएको बारेमा अझै यकिन हुन नसेको अदालतका कर्मचारीले बताएका छन्।
अदालतमा प्रवेश गरेर मोबाइल चोरीकाे घटनालाई लागु-औषधको मुद्दाका मुख्य नाइकेसम्म अनुसन्धान नपुग्न दिनको लागी योजनाबद्ध रुपमा चोरी गरिएको हुनसक्ने विश्लेषण गरिएको छ। अदालतबाट हातहतियार खर-खजना मुद्दामा बरामद भएको पेस्तोल र गोली चोरी भएको हो। अपराधमा संलग्न शक्तिशाली व्यक्तिले आफू जोगिने प्रपञ्च अन्तर्गत अभियुक्तका मोबाइल र बरामद हतियार अदालत भित्रबाट चोरी भएको हुनसक्ने आङ्कलन गरिएको छ। नागरिकन्युजबाट साभार