बर्दिया,कात्तिक २२ / बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालयको पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्तर्गत मानव वन्यजन्तु द्वन्द्व न्युनीकरण परियोजनाबाट मृतक महिलाको परिवारलाई मंगलबार रु १ लाख रूपैया हस्तान्तरण गरिएको हो ।
बाघको आक्रमणबाट गत कात्तिक १७ गते मधुवन नगरपालिका–५ की २८ वर्षिय गायत्री डाँगीको मृत्यु भएको थियो । घर नजिकैको चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा गर्न गएको बेला बाघले डाँगीलाई आक्रमण गरेको थियो ।
मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, लुम्बिनी प्रदेशका सांसद जन्मजय तिमल्सिना र डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले संयुक्त रुपमा मृतकका आफन्त यमसरा केसी डाँगीलाई नगद रु एक लाख हस्तान्तरण गरेका छन् ।
खाता कोरिडोर क्षेत्रमा बाघबाट मानवीय क्षति बढिरहेकोले जंगल नजाने वातावरण बनाउन र मानवीय क्षती हुन नदिन जनचेतना मुलक कार्यक्रमहरु जंगल छेउ बस्ने स्थानीयहरु माँझ व्यापक रुपमा गर्नु पर्ने सांसद तिमल्सिनाले बताए ।
सोहि कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले पनि बाघको आक्रमणबाट मृत्यु भएकी डाँगीको परिवारलाई आय आर्जन गर्न नगद रु ५० हजार हस्तान्तरण गरेको छ । मृतक डाँगीका श्रीमान वैदेशिक रोजगारका लागि विदेशमा रहेको र उनका सानै एक छोरा र छोरी रहेका छन् । स्रोत माउण्टेनसमाचार