राम प्रसाद चौहान
बर्दिया,कात्तिक २३/ दिपावली नजिकिएसँगै माटोको दियो बनाउन कसगढ समुदाय यतिबेला व्यस्त देखिन्छन् । परिवारका सदस्यहरु कोही पनि खाली भेटिदैनन् । कसैले विद्युतिय चक्रको सहायताले माटो दियो लगायत सामाग्री बनाउन व्यस्त छन् त कोही बनाएको सामाग्री सुकाउन, मिलाउन त कसैले माटो मुछेर सघाँएको पाईन्छ । यो समुदायलाई अन्य समयमा फुर्सद भए पनि दिपावली नजिकिएपछि व्यस्तता बढ्ने गर्दछ । दिपावलीमा माटोको दियो बाल्ने परम्परा सदियौ देखि चलिआएको छ । दिपावलीमा माटोको दियोको माग बढ्ने भएकोले कसगढ समुदायलाई माटोको दियो बनाउन भ्याइनभ्याई छ ।
लक्ष्मी पूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको दियोमा दीप प्रज्वलित गर्ने चलन रहे पनि पछिल्लो समय बिद्युतिय झिलिमिली बत्तीको प्रचलन बढेसंगै कसगढ परिवार चिन्तित बनेको छ । विद्युतिय दियो बत्तीले गर्दा माटोको दियो बिक्रीमा कमी आएको कसगढ समुदायले सुनाउँछन् । त्यसैगरी प्लास्टिक, काँच, स्टीलका भाडाँवर्तन प्रयोगमा आएसंगै माटोको भाँडाबर्तनको बिक्रीमा कमी आएपछि कसगढ समुदायको पुर्खौली पेशा नै धरापमा पर्दै गएको छ ।
गुलरिया भन्सार रोडमा करिब एक दर्जन कसगढ समुदायको बस्ति छ । कसगढ समुदायको मुख्य पेशा नै माटोको भाडावर्तन बनाउने हो । पछिल्लो समयमा माटोको भाडावर्तनको प्रयोग घट्न थालेपछि पुर्खौली पेशा नै संकटमा परेको छ ।
गुलरिया नगरपालिका–८ भन्सार रोडका रज्जबली कसगढ बुधबार माटोको दियो बनाउन व्यस्त देखिए । दिपावलीलाई मध्यनजर गरि माटोको दियो बनाईरहेको बताए । ‘पहिलाको जस्तो माटोको सामान बिक्री हुदैन,’ उनले भने,‘बजारमा प्लास्टिक सामानको उपलब्धता भए देखि माटोका सामान बिक्रीमा कमी आएको छ ।’ ‘करवा चौथलाई मध्यनजर गरि ५० वटा माटोको करवा बनाएको थिए,’उनले भने,‘१०/१२ वटा मात्र करवा बिक्री भए बाँकी त्यस्तै छ ।’
पुर्खौली पेशालाई अंगालेको करिब ४२ वर्ष भईसकेको उनले सुनाए । ‘यस पेशामा मेहनत बढी,आम्दानी कम हुन्छ,’उनले भने,‘जसले गर्दा परिवार पाल्न खर्च धान्न मुस्किल छ ।’ सिजनमा माटोको भाडाँवर्तन बनाउने र सिजन बाहेक भट्ठामा काम गर्ने गरेको उनले जनाए । दिपावलीलाई मध्यनजर कसगढ परिवारले अलग अलग गरि करिब ३ लाखको हेराफेरीमा माटोको दियो बनाएको रज्जबली कसगढले जानकारी दिए ।
कसगढ समुदायको पेशा संकटमा परेको गुलरिया नगरपालिका–८ की सरिफुन कसगढले बताईन् । ‘माटोको भाडावर्तन बनाउन धेरै समस्या छ,’ उनले भनिन्,‘हाम्रो खेतबारी छैन ।’ मुख्य पेशा नै माटोको सामाग्री बनाउने हो । माटोको भाडावर्तन बनाउन महंङगोमा माटो किन्नुपर्छ । एक बुग्गि माटो रु पाँच सयमा पाईन्छ । त्यसैगरी माटोको भाडावर्तन पकाउन भुस र दाउरा चाहिन्छ । त्यो पनि महंङगो पर्छ । राम्रो माटो नपाएर समस्या छ ।
पाईने माटोमा कंकडको मिसावट हुँदा तयार गरेको अधिकांश माटोको सामाग्री फुटेर मेहनत खेर जाने गरेको उनले दुखेसो सुनाईन् । यी समस्यालाई सरकारले समाधान गरिदिए माटोको सामाग्री बनाउन सहज हुने उनले जनाईन् । पुजापाठमा आवश्यक पर्ने सम्पुर्ण माटोको सामाग्री तयारी अवस्थामा पाईन्छ । माटोको दियो, कलश, लाखबत्ति, भुड्की, बच्चाहरुको खेलौनालगायत सामाग्री पाईने उनले जानकारी दिईन् ।