विद्युतको बक्यौत नतिरे खानेपानी उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारीको घरको लाईन काटिने शर्त राखेर लाईन जडान गरिएको विद्युत प्राधिकरणका प्रमुख नारायण अर्यालले जानकारी दिए ।
राम प्रसाद चौहान
बर्दिया,कात्तिक २३(फरकसमाचार)/ तिहारको मुखमा खानेपानीको विद्युत लाईन काटिएर खानेपानी अबरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । खानेपानी उपभोक्ता समिति गुलरियाको बिद्युत बक्यौता नतिरेको लापरवाहीले सेवाग्राहीलाई तिहारको बेला बुधवार बिहान पानी उपभोग गर्न पाएनन् ।
खानेपानी उपभोक्ता समितिले विद्युतको महसुल नतिर्दा विद्युत प्राधिकरण बुधबार लाईन काटेको जानकारी प्राधिकरणले दिएको छ । लाईन काटिएर बिहीबार साँझसम्म पनि खानेपानी नआएको सेवाग्राहीले बताएका छन् । खानेपानी उपभोक्ता समितिले समयमा विद्युत महसुल नतिरेर लाईन काटिदाँ उपभोक्ता समितिको चौतर्फी आलोचना भईरहेको छ ।
खानेपानीको विद्युत महसुल नतिरेर विद्युत लाईन काटिएर खानेपानी अबरुद्ध रहेको विषयमा फरकसमाचार संवाददाताले सम्पर्क गर्न खानेपानी उपभोक्ता समिति गुलरियाका अध्यक्ष मिनराज शर्माले प्रयोग गर्ने मोबाईल नंम्बर ९८५८०४०४०० र ९८५८०४०४९९ अफ थियो ।
यस विषयमा विद्युत प्राधिकरण गुलरियाका प्रमुख नारायण अर्यालसंग बुझ्दा विद्युत महसुल नतिरेर लाईन काटिएको बताए । ‘
खानेपानी उभोक्ता समितिले फ्रिमा खानेपानी वितरण गरेको छैन,’प्रमुख अर्यालले भने,‘खानेपानी वितरण गरे वापत सेवाग्राहीसंग शुल्क उठाएको छ,तर विद्युत महसुल तिरेको छैन ।’ खानेपानीको नाममा २ वटा मिटर छ । दुई वटै मिटरको गरि करिब रु २० लाख विद्युत महसुल बक्यौता रहेको प्राधिकरण प्रमुख अर्यालले जनाए । ‘चैतबाट कात्तिकसम्म ३ पटक बक्यौता रकम तिर्न ताकेता गरेको छु,’प्राधिकरण प्रमुख अर्यालले भने,‘तर खानेपानी उपभोक्ता समितिले आलटाल ग¥र्यो ।’
जसले गर्दा प्राधिकरणले बुधबार खानेपानीको दुई वटै मिटरको लाईन काटेको छ । ‘लाईन काटिएपछि बिहीबार उपभोक्ता समितिले रु १ लाख मात्र तिरेको छ,’प्रमुख अर्यालले भने,‘ मंसिर मसान्तमा बाँकी रकम तिर्ने पदाधिकारीहरुले लिखित रुपमा माईनेट पेश गरेका छन् । तिहारको बेला सेवाग्राहीलाई सास्ती नहोस् भनि बिहीबार लाईन जोड्ने कुरा रहेको जनाए । यदि मंसिर मसान्तमा बाँकी रकम नतिरे पुस १ गते खानेपानी उपभोक्ता समिति र समितिका सम्पुर्ण पदाधिकारीहरुको घरकोसमेत लाईन काटिने प्राधिकरणका प्रमुख अर्यालले जानकारी दिए ।