बर्दिया,कात्तिक २४(फरकसमाचार) / नेपालीहरुको महान् चाड शुभ दिपावलीमा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्लावासीलाई प्रशासनले अनुरोध गरेको छ । नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा र अनुशासन कायम गरि हर्षोल्लासकासाथ चाडपर्व मनाउन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बिहीबार सुचना जारी गरि जनाएका हुन् ।
देउसी भैलोलगायत नाँचगान एवम् मनोरन्जनका कार्यक्रम गर्दा शान्तिपुर्ण, सुरक्षित र मर्यादित रुपमा गर्नसमेत जिल्लावासीलाई सुचनामार्फत अनुरोध गरिएको छ । चाडपर्व मनाउँदा कुनै पनि किसिमका पटाका, आतिशबाजी तथा प्रज्वलनशील विष्फोटक पदार्थको निकासी, पैठारी ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न जनाईएको छ ।
यदि उक्त कार्यहरु गरे गराएको पाईएमा कानुन बमोजिम कारवाही हुने जारी सुचनामा उल्लेख छ । त्यसैगरि दिपावली बत्तिको पर्व भएकोले दियो, मैनबत्ति तथा विद्युतिय बत्तीहरुको प्रयोग गर्दा सानो लापरवाहीको कारणले आगलागी भई ठुलो क्षतिको जोखिम हुने भएकोले विषेश ध्यान दिनहुनसमेत सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको छ ।
२०७९ साल साउन १२ गते राजपत्रमा प्रकाशित वन तथा वातावरण मन्त्रालयको सुचना बमोजिम नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पुर्ण रुपमा रोक लगाउने निर्णय भएकोले सोही अनुसार गर्न हुन जिल्लावासीलाई प्रशासनले आग्रह गरेको छ ।