बर्दिया,मंसिर ११(फरकसमाचार)/ नेपाल भारत सिमावर्ती लौकाही बजार नजिक गुलरिया नगरपालिका–११ डाडालालपुर स्थित भएको कुटपिटपछि गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।
उपचारको क्रममा लखनउँमा गुलरिया नगरपालिका–११ का अन्दाजी ४० वर्षिय रमेश यादवको आइतबार मृत्यु भएको हो । नेपाल भारत सिमावर्ती लौकाही बजारका जलालु खान र उनको छोरालगायत करिब १० जनाले यादवलाई निर्घात कुटपिट गरेको मृतक परिवारले जनाएको छ । घटना यस्तो भएको हो ।
मृतक यादवको दिदी गत कार्तिक तेस्रो साता सिमावर्ती लौकाही बजारमा औषधी लिन गईन् । सिमावर्ती बजार लौकाहीका जलालु खानका छोरा डाक्टर अतहर खानको मेडिकलबाट औषधी ल्याईन् । औषधीले अलिकति निको नभएपछि मृतकको दिदी फेरि गईन् । कस्तो औषधी दिएको विषयमा सामान्य विवाद भयो । डाक्टर अतहर खानले आपांङ दिदीमाथि हातपात गरेपछि मृतक रमेश यादव पुगेका थिए । मृतक यादव पुग्दा सामान्य विवादपछि झगडा शान्त भएको थियो ।
दुई तिन दिनपछि कार्तिक २३ गते मृतकको भतिज ओमकार यादव लौकाही बजार गएका थिए । भतिजलाई डाक्टर अतहरले समातेर राखे । फोन गरेर अंक्कललाई बोलाउन लगाए । गुलरिया नगरपालिका–११ का रमेश यादव र मनोज यादव दाईभाई लौकाही स्थित सिमामा पुगेका थिए । दुई भाई पुगेपछि डाक्टर अतहर खान र उनको बुवा जलालु खानलगायतले निर्घात लठ्ठी र चिर्पटा प्रयोग गरि कुटपिट गरेको मृतककी श्रीमति प्रमिला यादवले बताईन् ।
‘दुई तिन दिनको अगाडिको रिसिबीले नेपाल भित्र पसेर लखेटी लखेटी कुटपिट भयो’ उनले भनिन्,‘सख्त घाईते भएका श्रीमानलाई बर्दिया अस्पताल ल्यायौं ।’ बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंज रिफर गर्यो । मृतकको टाउको फुटेर गहिरो चोट र पेटमा चोट लागेको उनी जनाईन् । नेपालगंज नर्सिङ्गहोममा ३ दिन र भेरीमा २ दिन उपचारपछि घर ल्यायौं । त्यसपछि स्वास्थ्य स्थिती नाजुक भएपछि भारतको लखनउँ लागेको उनले जनाईन् ।
लखनउँमा उपचारको क्रममा आइतबार दिउँसो ४ बजे मृत्यु भएको आफन्त पप्पु यादवले बताए । ‘घटनाको बारेमा प्रहरी चौकी गणेशपुरमा जानकारी थियो’ उनले भने,‘घाईतको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयमा आइतबार साँझ जाहेरी दिएका छौं ।’