राम प्रसाद चौहान
बर्दिया,मंसिर ११(फरकसमाचार)/ गुलरिया छोटी भन्सार कार्यालयमा अतिरिक्त रकम असुली बन्द भएको छ । भन्सार कार्यालयमा सेवाग्राहीसंग अतिरिक्त रकम असुल गर्ने करारका कर्मचारी दिनेश चौधरीको जागिर फुत्केपछि असुली बन्द भएको हो । भन्सार कार्यालयमा पुग्ने सेवाग्राहीसंग खुलेआम अतिरिक्त रकम असुली गर्ने गरेको व्यापक गुनासोपछि फरकसमाचार संवाददाता समाचार संकलनको लागि भन्सार कार्यालय पुग्दा प्रमाणसमेत भेटिएको थियो ।
उक्त प्रमाण सबुतको आधारमा गत शुक्रबार फरकसमाचार डटकम र फरक समाचार राष्ट्रिय दैनिकको पहिलो पेजमा ‘गुलरिया छोटी भन्सार कार्यालयले सेवाग्राहीसंग अतिरिक्त रकम असुल गरिरहेको खुलासा’शिर्षकमा समाचार प्रकाशित भएपछि छानबिन सुरु भएको थियो । आवश्यक छानबिन गरि कारवाही गर्ने गुलरिया छोटी भन्सार कार्यालयका प्रमुख धन बहादुर शाहीले बताएका थिए ।
छानबिनमा भन्सार कार्यालयका भोलेन्टियर कर्मचारी दिनेश चौधरीले सेवाग्राहीसंग अतिरिक्त रकम असुल गरेको प्रमाणित भएपछि जागिरबाट निकालिएको गुलरिया छोटी भन्सार कार्यालयका नायव सुब्बा बासुराम चन्द्र भट्टले बताए ।
‘भन्सारमा प्रयाप्त कर्मचारी नहुँदा दुई भोलेन्टियर कर्मचारीले सेवा दिएका थिए ।’ नायव सुब्बा भट्टले भने,‘सेवाग्राहीसंग लिन नहुने अतिरिक्त रकम असुलेर विवादित काम गरेपछि दिनेश चौधरीलाई हटाईएको छ ।’ विवादित काम नगर्ने सर्तमा एउटा भोलेन्टियर कर्मचारीलाई राखेका छौं । अबदेखि भन्सार कार्यालयमा सेवाग्राहीले अतिरिक्त रकम नबुझाउनु पर्ने नायव सुब्बा भट्टले दावी गरे ।
विभागले न करारको कर्मचारी दिन्छ न त प्रयाप्त स्थायी कर्मचारी पठाउँदा यस्ता समस्या देखिएको गुलरिया छोटी भन्सार कार्यालयका नायव सुब्बा भट्टले जनाए ।
भन्सारका कर्मचारी दिनेश चौधरीले भारतीय सवारी साधन नगरभित्र साँझ ५ बजेसम्म चलाउन निशुल्कमा दिनुपर्ने पास रु १० र भारतीय नंम्बर प्लेटको मोटरसाइकलको एक दिनको भन्सार गराउँदा रु २ सयको रसिद काटेर खुलेआम २ सय ५० लिने गरेको पाइएको थियो ।