काठमाडौं, मंसिर १२ / प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौं आएका छन्। उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन्।प्रधानमन्त्री प्रचण्डलाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए।
‘प्रहरी समायोजनबारे २०७६ सालमै ऐन बनिसकेको छ। तर, अहिलेसम्म समायोजन नभएको अवस्था छ। यही विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउन सातै प्रदेशका आन्तरिक मामिलामन्त्री काठमाडौं आएका छौं,’ श्रेष्ठले भने। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर प्रहरी समायोजनबारे ज्ञापन पत्र बुझाउने बताए।
सात प्रदेशका गृहमन्त्रीले कर्मचारी समायोजनाको विषय पनि उठाउने भएका छौं। ‘ध्यानाकर्षण पत्रमा प्रहरी समायोजनको विषय छ। कर्मचारी समायोजन चाहिँ हाम्रो क्षेत्राधिकारभित्र नभएकाले मौखिकरूपमा उठाउनेछौं,’ उनले भने।सेतोपाटीबाट साभार