बर्दिया,मंसिर २३ (फरकसमाचार)/ लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय देउखुरीले सिमानाका जोडिएका जिल्लाहरुमा मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियान चलाएको छ । बुधबार बर्दियामा आयोजित अभियान सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रममा बृहत छलफल गरिएको हो । लैङगिक हिंसामुक्त प्रदेश निर्माणको अवधारणा अनुरुप संघ र स्थानीय तहसंगको समन्वयमा कार्यस्थलमा हुने हिंसालगायत लैङगिक हिंसा रोकथाम तथा नियन्त्रणका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिएको छ ।
लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा गरिएको छलफल प्रभावकारी हुने सहभागीहरुले विश्वास व्यक्त गरेका छन् । लैङगिक हिंसा अन्र्तगत नै मानव बेचबिखन तथा ओसार पसार पर्ने भएकोले यसलाई न्युनिकरण गर्न व्यापक छलफल गरिएको छ । अन्तरक्रिया कार्यक्रमका सहभागीले ‘लैङगिक हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौं, म हिंसा गर्दिन, म हिंसा सहन्न र कसैले कसैलाई हिंसा गरेको देखेमा तत्काल सहयोग गर्ने’प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
मानव बेचबिखन तथा ओसार पसार बिरुद्धमा जिल्लामा प्रजिअको नेतृत्वमा रहेको समितिले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘यस्ता घटनाको समिक्षा गर्ने’प्रजिअ रिसालले भने,‘घटना न्युनिकरणको लागि सरोकारवालालाई जानकारी गराउने काम भईरहेको छ ।’ यस्ता घटना भएको जानकारी पाउनसाथ हाम्रो सयन्त्रहरु परिचालन हुन्छन् । आधुनिक सुचना प्रविधिका कारण मानव बेचबिखनको स्वरुप परिर्वतन भएको छ । आज भोलि रोजगारिको प्रलोभन देखाएर मानव बेचबिखन भईरहेका छन् । जबसम्म मानसिकतामा परिर्वतन हुदैन तबसम्म मानव बेचबिखनको घटना न्युनिकरण नहुने प्रजिअ रिसालले भनाई राखे ।
चालु आर्थिक वर्षको कार्यक्रममा लैङगिक हिंसा निवारण गर्न सामुदायिक विद्यालयसंगको सहकार्यमा किशोरीहरुको लागि आत्मरक्षा तालिमको लागि बजेट बिनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत शारदा बस्याल वेल्वासेले बताईन् । त्यसैगरी नेपालमा लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियान किन मनाईने बारेमा प्रकाश पारिन् । ‘प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालश्रम शोषण अन्त्य गर्न र बालबालिकाको संरक्षण गर्ने समावेश गरेको छ’ उनले भनिन्,‘उच्च शिक्षामा दिईदै आएको विपन्न लक्षित छात्रबृत्तिलाई निरन्तरता दिई मुक्त कमैया, कमलरी, बादी गन्धर्व, चिडीमार, पासीलगायत अतिसीमान्तकृत बर्गका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति प्रदान गरि प्रोत्साहन गर्ने नीति छ ।’
त्यसैगरी मानव बेचबिखनका समस्या र सवालहरु बारे अवधारणागत स्पष्टताको बारेमा रत्न काजी बज्राचार्यले प्रस्तुीकरण गरेका थिए । अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि, पालिकाका उप–प्रमुख, गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।