बर्दियामा सिमा स्तम्भको मर्मत सुरु
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २३(फरकसमाचार) / जिल्ला स्थित रहेका सिमा स्तम्भको मर्मत सम्भारको काम सुरु भएको छ । बढैयाताल गाउँपालिका जमुनी स्थित रहेको ६ सय ६३ नम्बरको मुख्य सिमा स्तम्भबाट मर्मत सम्भारको काम बुधबारबाट सुरु भएको हो ।

जिल्लामा रहेका कुल २ सय ४५ सिमा स्तम्भहरु मध्ये ३९ वटा सिमा स्तम्भहरुको मर्मत सम्भार गरिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘सन् २०१४ पछि निर्माण भएका सिमा स्तम्भहरुको मर्मत सम्भार गर्ने जिम्मा सरकारले निर्णय गरेर सशस्त्र प्रहरीलाई दिएको छ’प्रजिअ रिसालले भने,‘जिल्लामा सन् २०१४ पछि निर्माण भएका बिजोर नंम्बरका ३९ वटा सिमा स्तम्भहरुको मर्मत सम्भार गर्ने जिम्मा सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणले पाएको छ ।’

नेपालले बिजोर र भारतले जोर नंम्बरको सिमा स्तम्भ मर्मत सम्भार गर्ने दुई देश बिच सम्झौता भएको छ । सोही अनुसार जिल्ला स्थित बिजोर नंम्बरको ३९ वटा सिमा स्तम्भहरुको यस चरणमा मर्मत सम्भार गरिने प्रजिअ रिसालले जानकारी दिए । टेक्निकल हिसाबमा नापी कार्यालयका एक अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र सशस्त्र प्रहरीको सहभागीतामा सिमा स्तम्भहरुको मर्मत सम्भारको काम सुरु भईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर