बर्दिया,मंसिर २३(फरकसमाचार) / जिल्ला अस्पताल द्वारा संचालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) ले लैङगिक हिंसामा परेका ४७ जना पिडितलाई निःशुल्क सेवा दिएको छ । ओसिएमसिको बुधबार आयोजित पहिलो चौमासिक समिक्षामा प्रस्तुत गरिएको तथ्यांकले ४७ जना पिडित महिलालाई निःशुल्क रुपमा सेवा दिएको हो ।
चालु आर्थिक वर्षको साउन देखि कार्तिकसम्म ४७ जनाले अस्पतालको ओसिएमसि मार्फत सेवा लिएको तथ्यांक सार्वजनिक गरिएको छ । जसमा २२ जना आफै, प्रहरीबाट २०, एनजिओबाट २, सेवा केन्द्रबाट १ र स्वास्थ्य चौकीबाट २ जना ओसिएमसिमा आएर सेवा लिएको रेकर्ड ओसिएमसिले पुष्टि गर्छ । नेपाल सरकारद्वारा लैङगिक हिंसा पिडितहरुलाई सम्बन्धि सबै कार्यालयहरुको सहयोगमा आवश्यक सबै सेवाहरु पुर्णरुपले निःशुल्क उपलब्ध गराउन ओसिएमसि स्थापना भएको केन्द्र हो ।
हिंसामा परेर ओसिएमसिमा सेवा लिएको ४७ जना पिडितहरु मध्ये सबै भन्दी बढी गुलरिया नगरपालिकाका रहेको तथ्यांकले देखाएको छ । बारबर्दियाका ४, गुलरियाका १९, मधुवनका ७, ठाकुरबाबाका ३, राजापुरका २, गेरुवा गाउँपालिकाका २ र बढैयातालका ६ जनाले सेवा लिएका छन् । त्यसैगरी पुर्वी रुकुम, कैलाली, सुर्खेत र बाँकेका एक/एक जनाले सेवा लिएका छन् । ओसिएमसिमार्फत जबरजस्ती करणी, कुटपिट र यौन दुव्र्यवहारलगायतका पिडितहरुले सेवा लिएको बर्दिया अस्पताल ओसिएमसिकी सम्पर्क व्यक्ति तथा मनोसामाजिक परामर्श कर्ता सपना बाठा मगरले बताईन् ।
‘ओसिएमसिमा जनशक्ति अभाव छ’ उनले भनिन्,‘सम्बन्धित निकायले प्रयाप्त जनशक्ति उपलब्ध गराए सहज रुपले सेवा दिन सकिनेछ ।’ गत वर्षको भन्दा ओसिएससिको बजेट घटेर आएको छ । चालु आर्थिक वर्षको लागि जम्मा बजेट रु १५ लाख आएको छ । जसमा पहिलो चौमासिकमा रु ५ लाख ९६ हजार ९ सय ९७ खर्च भएको र रु ९ लाख ३ हजार ३ बचेको बाठा मगरले जानकारी दिईन् ।
रेप केसमा परेका सम्बन्धित व्यक्तिहरु ओसिएमसिमा ढिलो आउने हुनाले चेकजाँचमा समस्या पर्ने गरेको अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताए । ढिलो नगरि सम्बन्धित पिडितहरु समयमै आए चेकजाँच गर्न प्रभावकारी हुने पाण्डेयले जनाए ।
लैङगिक हिंसाका केसहरु घटाउन सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए । ‘लैङगिक हिंसाका घटना हुने तर ओसिएमसि र कानुनी कारवाहीको प्रक्रियामा नआउने अवस्था हुन सक्छ’ प्रजिअ रिसालले भने,‘यस्ता घटना भएमा कानुनी प्रक्रियामा ल्याउन पहल र घटना नघट्न नदिन सचेतनामुलक कार्यक्रम गर्नुपर्छ ।’
ओसिएमसिको पहिलो चौमासिक समिक्षामा प्रजिअ नारायण प्रसाद रिसाल, जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्साल, अस्पतालका बरिष्ठ मेसु डा.सुभाष पाण्डेय, जिल्ला समन्वय अधिकारी तथा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीलगायतको उपस्थिती रहेको थियो ।