सरकारले द्वन्द्व पिडितको समस्या समाधान गर्न नखोजेको आरोप
आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित

बर्दिया,मंसिर २४(फरकसमाचार) / सरकारले द्वन्द्व पिडितको समस्या समाधान गर्न नखोजेको सरोकारवालाले बताएका छन् । देशमा शान्ति सम्झौता भएको १७ वर्ष बितिसक्दा पनि पिडितहरुको समस्या समाधान नहुनु सरकारले गर्न नखोजेको सरोकारवालाले शनिबार छलफलमा बताएका हुन् । राज्यले लामो समय देखि बेपत्ता भएकाहरुको लागि कुनै ठोस कदम नचाल्दा सम्पत्ति हस्तान्तरणलगायत विषयमा समस्या भईरहेको पिडितहरुको भनाई छ ।

राज्यले चाहेमा समस्याको समाधान गर्न सक्छ तर विभिन्न बहानामा समस्या समाधान नगरेर लम्व्याईरहेको समेत सहभागीहरुले आरोप लगाएका छन् । पिडितको समस्या समाधान गर्न राज्यमा लामो समय देखि समिति बन्ने बिग्रिने काम मात्र भएको छ । पिडितले न्याय पाउने काम राज्यले नगरेको सरोकारवालाको भनाई छ ।

नागरिक समाज, द्वन्द्व पिडित, बार एसोसिएसन, पार्टीका प्रतिनिधि, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितीमा छलफल गरिएको छ । चार वटा विषयमा व्यापक छलफल भएको छ । मानव अधिकारको गम्भिर उल्लंघनमा समावेश गरिएको स्वेच्छाचारी रुपमा क्रुरतापूर्वक गरिएको हत्या/दोहोरो भिडन्त बाहेक गरिएको हत्या मध्ये कुनलाई समावेश गर्ने, सशस्त्र द्वन्द्वको क्रममा जोडिएको र प्रभावित भएका व्यक्तिहरुलाई कसरी सम्बोधन गर्ने, मानव अधिकारको उल्लंघनको घटनामा मेलमिलापको लागि पिडितको स्वतन्त्र सहमति नभएमा के गर्ने, घटी सजायका सम्बन्धमा आधार कारण खुलाएर सजाय कम गर्न सकिने व्यवस्था गर्ने वा प्रतिशत नै तोकेर जाने विषयमा छलफल गरिएको छ । द्वन्द्व पिडितहरुको समस्या सम्बोधन गर्न संक्रमणकालीन न्याय सम्बन्धि ऐन निर्माणका लागि देशको विभिन्न ठाउँमा सरोकारवालाहरुसंग छलफल गरिरहेको छ ।

द्वन्द्व पिडितहरुको फरक फरक मागहरु देखिएकोले सरोकारवालाहरुसंग छलफल गरिरहेको नेपाल पीसविल्डिङ इनिसिएटिभका सोगेन्द्र बोगटीले बताए ।

शिक्षा, स्वास्थ्य र रोजगार त्यसबाहेक द्वन्द्व कालमा भएका घटनाहरुको दस्तावेजिकरण र स्मृतिकरण गर्न द्वन्द्व पिडितहरुको प्रमुख आवश्यकता रहेको नेपाल पीसविल्डिङकी कार्यक्रम संयोजक समिक्षा भट्टराईले प्रस्तुतीकरण जनाईन् । त्यसैगरी पिडितहरुको बिस्तृत तथ्यांकको अभाव, पिडितको सुचनामा पहुँचको कमी,फरक दृष्टिकोणले हेर्ने र स्थानीय सरकारको प्राथमिकतामा नपरेको समस्या देखिएका सुनाईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर