पूर्व पश्चिम राजमार्ग बारबर्दिया नगरपालिका भित्र पर्ने कतर्निया स्थितबाट प्रहरीले बरामद गरेको गरगहना भारत लैजान लागेको वा भारतबाट नेपाल भित्राएको एकिन गर्न प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
बर्दिया,मंसिर २५(फरकसमाचार)/ बर्दिया प्रहरीले ठुलो परिमाणको स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–९ कतर्नियाघाटबाट प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरि आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीले सुनसहित दुई जनालाई शनिबार साँझ साढे ६ बजे नियन्त्रणमा लिएको हो ।
बरामद गरगहना २९ तोला १२ आना रहेको प्रहरीले जनाएको छ । बाँके नेपालगंज उपमहानगरपालिका–१९ राँझाका २९ वर्षिय मोहन विक र गाडी धनि बाँके राप्ति डुडुवा गाउँपालिका–५ जब्दहवा बस्ने ३८ वर्षिय देबिन्द्र बहादुर घर्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
प्रहरीको टिमवर्कले सुनसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक सुधिरराज शाहीले बताए । उनका अनुसार बरामद सुनको मुल्य करिब रु ३५ लाख बराबरको छ । ‘सुन कहाँबाट ल्याईएको र कहाँ लैजान लागेको खुलेको छैन’ प्रहरी उपरीक्षक शाहीले भने,‘अनुसन्धानमा थप कुरा खुल्ने र संलग्न अरु व्यक्ति पक्राउ पर्न सक्ने विश्वास छ ।’बरामद सुन राजापुर भन्सार कार्यालयमा बुझाउने प्रहरी उपरीक्षक शाहीले जनाए ।
प्रहरीले कसरी बरामद गर्यो सुन
शनिबार साँझ ईलाका प्रहरी कार्यालयका, बगनाहका प्रहरी निरीक्षक नवराज बहादुर शाहीले सुन लैजान लागेको विशेष खबर प्राप्त गर्छन् । सुन लैजान लागेका व्यक्तिहरु भाग्न नपाउनु भनेर प्रहरी निरीक्षकले ईलाका प्रहरी कार्यालय मोतीपुरकी प्रहरी निरीक्षक शैलेश्वरी बोहरासंग प्राप्त विषेश खबरको बारेमा जानकारी गराई नियन्त्रण लिन योजना तयार गर्छन् । ईलाका प्रहरी कार्यालय मोतिपुरको मातहतमा रहेको कतर्नियाघाट प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक कर्णनाथ योगीलाई प्रहरी निरीक्षक बोहराले खबर गरेर चेकप्वाईन्टमा अलर्ट रहन जानकारी दिन्छिन् । सोही अनुसार प्रहरी सहायक निरीक्षक योगी सक्रियता देखाउँछन् ।
पक्राउ परेका दुवै जना प्र ३–०१–०२३८१६८ नंम्बरको हुण्डाई गाडीमा सवार भई भुरिगाउँबाट बाँसगढीतर्फ गईरहेको अवस्थामा कतर्नियाघाट प्रहरी चौकीका ईन्चार्जसहितको टोलीले गाडी रोक्छन् । गाडीमा सवार दुई जना मध्ये मोहन विक गाडीबाट ओर्लिन्छन् र कालो ब्याग समातेर भाग्न खोज्छन् । ‘भाग्न खोजेका विकलाई समातेर झोला चेकजाँच गर्दा सुन बरामद भयो’प्रहरी सहायक निरीक्षक योगीले भने,‘कहाँबाट ल्याएको पटक पटक प्रश्न गर्दा विक बोलेनन् ।’केही पनि नबोल्दा शंका उत्पन्न भएको योगीले सुनाए ।
त्यत्तिकैमा ईलाका प्रहरी कार्यालय बगनाहका प्रहरी निरीक्षक शाही र ईलाका प्रहरी कार्यालयकी प्रहरी निरीक्षक बोहरा द्वय घटनास्थलमा पुग्छन् । सुन,गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिन्छन् ।