दैलेख,मंसिर २८/दैलेखको भैरवी गाउँपालिका ५ कागेतडामा बसेका राउटेहरूले औषधोपचार गराएका छन्। चिसो बढिरहेका बेला विभिन्न रोगले थलिएका उनीहरूले औषधोपचार गरेका हुन्। नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा राउटे समुदायका सदस्यहरूले आफूलाई भएको बिरामीसम्बन्धी औषधोपचार गरेका थिए। सल्लाको दियालो बालेर नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरले स्वास्थ्य शिविरको शुभारम्भ गरेकी थिइन्।
लोपोन्मुख राउटे समुदाय केही वर्षअघिसम्म जडिबुटीका भरमा उपचार गर्दै आए पनि हिजोआज स्वास्थ्य चेकजाँच गर्न थालेका हुन्। स्वास्थ्य शिविरसँगै प्रत्येकलाई न्यानो कपडा, बिस्कुट र फलफूलसमेत वितरण गरिएको थियो। शिविरमा राउटे समुदायका १७ महिला र ३९ पुरुष गरी ५६ जनाको स्वास्थ्य जाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो। एक सय ५६ थान जाडोबाट बच्चका लागि न्यानो कपडा (कम्मल) दिइएको थियो। कार्यक्रममा १५ कार्टुन बिस्कुट र तीन कार्टुन फलफूलसमेत वितरण गरिएको थियो।
विकट स्थानमा रहेको राउटे बस्तीमै पुगेर सेवा भावसहित नेपाल प्रहरी श्रीमती संघले गरेको स्वास्थ्य शिविर, न्यानो कपडा र फलफूल वितरण कार्य सराहनीय काम भएको भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाहीले बताइन्। मानवीय सेवा प्रदान गर्ने उद्देश्यले दैलेख आएर जंगलमा बस्दै आएका राउटे समुदायका सदस्यहरूको स्वास्थ्यस्थिति राम्रो होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको श्रीमती संघकी केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले बताइन्। ‘चिसो मौसममा राउटेहरूको संरक्षणतर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ।’ अध्यक्ष कुँवरले भनिन्, ‘केटाकेटी र ज्येष्ठ नागरिकको अवस्था चिसोले झन् कमजोर छ।’
फिरन्ते जीवन बिताइरहेका राउटे समुदायमा केन्द्रित गरी आयोजना भएको स्वास्थ्य शिविर प्रभावकारी भएको संघको कर्णाली प्रदेश अध्यक्ष विन्दु अधिकारी ढकालले बताइन्। उनले भनिन्, ‘स्थानीय तहदेखि प्रदेश र संघ सरकारले राउटेहरूको हेरविचार गर्न जरुरी छ।’ कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) भीमप्रसाद ढकाल, भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाही, एसएसपी सुशीलसिंह राठौर, लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट चिकित्सकको टोलीसहित संघका केन्द्रीय समितिका पदाधिकारीको सहभागिता थियो।
त्यस्तै संघले वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिरमा सरसफाइ कार्यक्रम, मानव सेवा आश्रममा खाना खुवाउने, प्रहरी स्कुलमा शैक्षिक सामग्री वितरण, संघको कर्णाली कार्यालय उद्घाटन र कारागार पुस्तकालयमा किताब हस्तान्तरण कार्यक्रम गरेको छ।नागरिकन्युजबाट साभार